टीकापुर, ११ साउन/टीकापुरमा नेकपा एमालेको २ दिने नगर स्तरीय प्रशिक्षण शुरु भएको छ । नेकपा एमाले टिकापुर नगर कमिटीको आयोजनामा दुई दिने नगर स्तरीय प्रशिक्षण सुरु भएको हो ।
टीकापुर नगरपालिका वडा नं .५ स्थित बनाना रिसोर्टमा सुरु भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमाले टीकापुर नगरपालिका पदाधिकारी तथा सदस्यहरू र जनसंगठनका सदस्यहरू सहभागी रहेका छन् ।
नेकपा एमालेको स्कुल विभाग मार्फत प्रत्येक प्रदेश, जिल्ला तथा स्थानीय तहमा प्रशिक्षण चलाउने योजना अनुसार टीकापुरमा पनि नगर कमिटीले प्रशिक्षणको आयोजना गरेको नेकपा एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले जानकारी दिनुभयो । 

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रशिक्षक नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैसीले कुनै पनि काम सिकेर गर्दा राम्रो हुने बताउँदै पार्टी पनि एउटा घर भएकाले त्यसलाई सञ्चालन गर्ने नीति नियमका विषयमा कार्यकर्ता तथा नेताहरुलाई सिकाउनका लागि यस्ता प्रशिक्षणहरु ले सहयोग पुग्ने हुँदा नेकपा एमालेले प्रशिक्षण चलाईरहेको बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैसीसहित कैलाली जिल्ला सचिव ममता प्रसाद चौधरी, उपसचिव चुडामणि भट्ट, एमाले नेता तपे्रन्द्र बहादुर रावल, रामचन्द्र जोशी, डिल्लिराज जोशी लगायतले प्रशिक्षण दिइरहनु भएको छ ।

प्रशिक्षण कार्यक्रममा पार्टी निर्माण, संगठन परिचालन, पार्टी सदस्यता र जनप्रतिनिधिको भूमिका, प्रचार प्रसारका कार्य तथा प्रविधिको प्रयोग, लेखा तथा अभिलेख व्यवस्थापन, कम्युनिष्ट शैली, आचरण, पद्धति र जीवन शैली लगायतका विषयमा प्रशिक्षकहरुले सिकाईरहेका छन् ।
नगर अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सञ्चालन नगर सचिव भानुभक्त जैसीले गर्नुभएको थियो भने स्वागत नगर उपाध्यक्ष विजय सार्कीले गर्नु भएको थियो । २ दिने प्रशिक्षण आजसम्म चल्ने छ ।