टीकापुर, २३ असार/टीकापुर नगरपालिकाले आउँदो साउन १ गतेबाट टीकापुरमा प्लास्टिकको झोला प्रयोग गरे जरिवाना तिराउने भएको छ । प्लास्टिकको झोला बिक्रेतालाई प्रथम पटक एक हजार रुपैया जरिवाना गर्ने भएको छ भने दोस्रो पटक भेटाए ३ र तेस्रो पटक भेटाए ५ हजार रुपैयाका दरले जरिवाना गर्ने छ ।
प्लास्टिकको झोला प्रयोग गर्नेलाई पहिलो पटक १० रुपैया जरिवाना हुने छ भने दोस्रो पटक भेटाए ५० रुपैया र तेस्रो पटक भेटाए सय रुपैया जरिवाना लिइने छ । प्लास्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक २ हजार, दोस्रो पटक भेटाए ४ हजार र तेस्रो पटक भेटाए ६ हजार जरिवाना तिर्नुपर्ने छ ।
टीकापुरमा प्लाष्टिकजन्य बस्तु लाई रोक्ने उदेश्यले नगरपालिकाले साउन १ गते देखि पहिलो चरण मा प्लास्टिकको झोला रोक्ने नीति लिएको छ । नगरपालिकाले प्लास्टिकजन्य बस्तुलाई रोक्न जरिवानालाई कडाईका रुपमा पालना गरिने जनाएको छ । नगरपालिका दुई महिना अघि बाट साउन १ लाई आधार मानेर प्लास्टिक मुक्त क्षेत्र बनाउने अभियानमा जुटेको छ ।
नगर प्रमुख रामलाल डगौंरा थारुले प्लास्टिकजन्य बस्तु रोक्न स्थानीय राजनीतिक दल,पत्रकार र समाजसेवी सँग आइतवार छलफल चलाउनुभएको छ । यसअघि व्यापारी, उद्योग वाणिज्य संघका पदाधिकारी र संघ संस्थासंग छलफल चलाइसक्नु भएको छ । छलफलमा सबैले सहयोग गर्ने वचन दिएको नगर प्रमुख डगौराले बताउनुभयो ।

बिकल्प सहित प्लास्टिकको झोला बन्देज लगाउने कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । मकैको खोस्टबाट बन्ने झोला र पाइबर झोला बिकल्पमा प्रयोग गर्न सकिने भएकाले नागरिकलाई समस्या नपर्ने उहाँको भनाई थियो ।
स्थानीय राजनीतिक दल, समाजसेवी, व्यापारी सबैले प्लास्टिक बन्देज कार्यक्रमको सहना गर्दै यस कार्यक्रमलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँहरुले नयाँ कार्यक्रम भएकाले नागरिकलाई यसबारे चेतना जगाउने बोर्डहरु लगाउनुका साथै प्रचार प्रसार गर्न सुझाव दिनुभयो ।
‘‘प्लास्टिकको झोला बन्देज कार्यक्रम सफल भयो भने नगर सफा राख्नमा आधा समस्या समाधान हुन्छ’’, नेपाली कांग्रेस का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भन्नुभयो, ‘‘आम उपभोक्ता र व्यापारीलाई सचेत गराउन जरुरी छ ।’’ नगर सफा राख्नु सबैको दायित्व भएकाले नगरपालिकाले ल्याएको प्लास्टिक मुक्त नगरपालिका अभियान शुरुमा कठिन भए पनि भविष्यमा यसले सकारात्मक परिणाम दिने अधिकारीको भनाइ थियो । प्लास्टिक प्रतिबन्धका बारेमा यतिखेर नगरपालिकाले व्यापक रुपमा प्रचार प्रसार गरिरहेको छ । टीकापुर नगरपालिका प्लास्टिकजन्य बस्तु प्रतिबन्ध सम्बन्धि ऐन २०८० स्थानीय राजपत्रमा २०८० साल चैत्र २५ गते प्रकाशित भएको हो ।
यो ऐनमा नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति बनाएर काम गर्ने भनिएको छ ।