टीकापुरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु

टीकापुर, ८ जेठ/टीकापुरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । कैलाशेश्वर शिवमन्दिर टीकापुरको आयोजनामा शुरु भएको महायज्ञ १३ गतेसम्म चल्नेछ । महायज्ञको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरी ले यो महायज्ञले धार्मीक आस्था को चित्रण गरेको बताउनुभयो ।
उहाँले अबको दिनमा धार्मीक स्थलहरुलाई सूचिकृत गरेर धार्मीक पर्यटनसंग जोड्नु पर्ने बताउँदै यसले यहाँको आर्थिक क्षेत्रमा पनि टेवा पुगाउने बताउनु भयो ।
प्रदेशसभा सदस्य चौधरीले कैलाशेश्वर शिव मन्दिरको विकास का लागि यहाँबाट गएको योजना लाई आफूले प्रदेशसभा मा समावेश गरिसकेको बताउनु भयो ।


टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन विकले मन्दिरको पुर्ननिर्माणका लागि मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको यो महायज्ञमा आफ्नो तर्फबाट पनि सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अछामको कमलबजार नगरपालिकाका निवर्तमान प्रमुख ओम प्रकाश विष्टले यो मन्दिर निर्माणका लागि राम्रो अभियानको शुरुवात भएको र यसमा सबैले साथदिनु पर्ने सुझाव दिनुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना ले कैलाशेशवर शिवमन्दिरको गुरु योजना अनुसार पुर्न निर्माण, व्यवस्थापन र स्तर उन्नतिका लागि महायज्ञको आयोजना गरिएको बताउनु भयो ।
महायज्ञमा कथा वाचन भागवत भूषण पण्डित नारायण प्रसाद तिमिल्सिनाले गर्नुहुनेछ । महायज्ञमा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म पूजापाठ, हवन, अनुष्ठानहरु गरिनेछन् भने दिउँसो १ बजेदेखि ५ बजेसम्म संगितमय भागवत् प्रवचन हुनेछ ।
महायज्ञ उद्घाटन कार्यक्रममा स्वागत भागिरथी बमले गर्नु भएको थियो भने सञ्चालन चक्रपाणी भट्टराईले गर्नु भएको थियो ।