टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको शल्यक्रिया

टीकापुर, १२ मङ्सिर/ टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक ९दूरबीन शल्य चिकित्सा० विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ ।
सामान्य तया दूरबीनको माध्यमबाट पेट नचिरेर सानो सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक शल्यक्रिया भनिन्छ ।
जानकी गाउँपालिका वडा नं। ७ गोलौरीकी ५३ वर्षिया रामकृष्णी महत्तोँको पाठेघरको सफल शल्यक्रिया गरिएको टीकापुर अस्पतालले जनाएको छ ।


अस्पतालमा पहिलो पटक यो विधिबाट पाठेघरको शल्यक्रिया गरिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर संजयकुमार दासले बताउनुभयो । टीकापुरमा पहिलो पटक शल्यक्रिया गरिएको हो । रामकृष्णीलाई लामो समय देखि समस्या भएकाले पेटमा ३ ठाउँमा प्वाल बनाएर शल्यक्रिया गरिएको दासले बताउनुभयो ।
शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञद्धय डा दास, डाक्टर नारायण पौडेल, एनेस्थेसियोलोजिस्ट डाक्टर अनु शर्मा,सहायक एनेस्थेसियोलोजिस्ट सन्तोषराज जोशी, ममता रावत, स्वास्थ्यकर्मी पुष्प धमाला, सुमित्रा पुनमगर, अर्चना शाह, रोशनी पुनमगर, रंगीना चौधरी लगायत प्रसुती वार्डका नर्सहरुको टोली खटेको थियो । डाक्टर दासले शल्यक्रिया गरिएको छोटो समय मा घर फर्कन मिल्ने भएकाले दुरबिनबाट शल्यक्रिया गर्दा कम जोखिम हुने बताउनुभयो ।
ल्याप्रोस्कोपिक शल्यक्रिया अर्थात दूरबीन शल्य चिकित्सा पद्धतीद्वारा गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको चिकित्सकहरु बताउँछन् । अत्याधुनिक शल्यक्रियाको विधा को यो शल्यक्रिया बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधि को रुपमा पनि हेरिन्छ ।
महत्तोंको करिव ३ वर्षदेखि पाठेघरमा समस्या थियो । निकै दुःख झेलिरहेकी उहाँ अहिले टीकापुरमै दुरबिनको सहायतामा शल्यक्रिया गर्न पाएपछि खुशी हुनुभएको छ ।
उहाँका छोरा कृष्ण महत्तोंँ उपचारका लागि बाहिर जानु नपर्दा सहज भएको बताउनुहुन्छ । स्वास्थ्य बिमा भएकाले उपचारमा सहज भएको उहाँको भनाइ छ ।
दुरबिनको प्रयोगले ल्याप्रोस्कोपी पद्धतीबाट शल्यक्रिया गर्दा बिरामी २/३ दिनमै घर जान सक्छ । साथै केही दिनमै बिरामी आफ्नो नियमित काममा फर्किन  सक्छ । पेट चिरेर गर्ने शल्यक्रियाले बिरामीले लामो समयसम्म दुःख पाउँछ, धेरै दिन अस्पताल बस्नुपर्ने हुन्छ, घाउ निको हुन धेरै दिन लाग्छ ।