सम्पादकीय
टीकापुर अस्पतालमा प्रसूति रोग विशेषज्ञ डाक्टर सञ्जयकुमार दासले पछिल्लो पटक दुरविनको माध्यमबाट शल्यक्रिया गर्नुभयो । यो नै दुरविनबाट भएको शल्यक्रिया पहिलो हो । अन्य सहरका अस्पतालमा धेरै पहिले यो सेवा बिरामीले पाएको भए पनि टीकापुर अस्पतालमा पहिलो पटक हो । यस क्षेत्रका बिरामीका लागि अवसर पनि हो । उसो त डाक्टर दासले कठिन खालका उपचार पनि गर्नुभएको छ । करिव ३ हजार बिरामिको शल्यक्रिया गर्नुभएको छ । यत्रो जनसंख्याले सुबिधा पाउनु भनेको राम्रो पक्ष हो । यसरी सेवा दिएका डाक्टरलाई प्रोत्साहन गर्न अस्पतालले के के ग¥यो भन्ने हो । यस्तो बिषयमा नगरपालिकाले पनि चासो दिन जरुरी छ । कतिपय बिरामी रेफर गर्नुपर्ने भए पनि बिरामीको सहमतिमा जोखिम मोलेर पनि टीकापुर अस्पतालमा शल्यक्रिया गरिएको छ । बेडको अभाव र बच्चाका लागि चाहिने अन्य सुबिधा नभएका कारण बिरामी अन्यत्र गएका हुन सक्छन् । कतिपय बिरामीका आफन्तले यहाँ हुँदैन भने अन्यत्र लैजान्छौ भनेर घु¥क्र्याउने गरेको पाइन्छ । यस्ता अवस्थामा डाक्टरले हुन्छ भन्नु स्वभाविकै हो । जे होस् टीकापुर अस्पतालमा कार्यरत प्रसूति रोग बिशषेज्ञ डाक्टरले टीकापुर अस्पतालमा देखाएको सकृयताले बिपन्न परिवारले ठूला लाभ पाएका छन् । यस्तो सेवा विस्तार गर्ने र यस्तो सेवा दिने डाक्टरको बारेमा अस्पताल व्यवस्थापन समिति पनि सचेत हुन जरुरी छ । यसका साथै टीकापुर अस्पतालले प्रदान गर्ने अन्य विशेषज्ञ सेवा प्रभावकारी बन्दै गएका छन् । अस्पतालमा भौतिक सुविधाको अभाव छ । बेड भर्ना हुनका लागि समस्या छ । बेड भर्ना संख्या बढाउन पहल गर्नुपर्छ । यसका लागि टीकापुर नगरपालिका र यस क्षेत्रका अन्य पालिकाले ध्यान दिन जरुरी छ । तसर्थ टीकापुर अस्पतालको सेवा प्रभावकारितामा सबैको ध्यान जान जरुरी छ ।