टीकापुर एफएमको सातौं साधारणसभा सम्पन्न, सञ्चार क्षेत्रले राम्रो नराम्रो भन्न सक्नुपर्छ : प्रतिनिधिसभा सदस्य न्यौपाने

टीकापुर, २३ बैशाख/प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेस का केन्द्रिय सदस्य ईश्वरी न्यौपानले सञ्चार क्षेत्रले राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने बताउनु भएको छ ।
सामुदायिक रेडियो टीकापुर एफएमको सातौं चुनावी साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले सञ्चार जगतको विकासका लागि आफू प्रतिवद्ध रहेको बताउँदै आफूबाट हुने सक्दो सहयोग गर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य ललिता सुनारले सामुदायिक रेडियो सबैको सम्पत्ती भएकाले त्यसको संरक्षणमा सबै लाग्नु पर्ने बताउँदै यसको विकासका लागि सहयोग गर्ने बताउनु भयो ।
निवर्तमान प्रदेशसभा सदस्य उमादेवी वादीले सामुदायिक रेडियो टीकापुर एफएमसंग आफू पहिलेदेखि नै जोडिएकाले यसले राम्रो काम गरिरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले टीकापुरको पत्रकारिताले समाजलाई जोड्ने काम गरिरहेको बताउँदै त्यसमा अझै राम्रो काम गर्न आग्रह गर्नुभयो ।


टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले सामुदायिक रेडियो प्रति शुभेच्छा व्यक्त गर्दै अहिले पनि सुशासनका क्षेत्रमा काम गरि रहेको र आगामी दिनमा सुशासन र पारदर्शिताका क्षेत्रमा खबरदारी गर्नु पर्ने बताउनुभयो ।
टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले सामुदायिक रेडियोले अवका दिनमा अनुदार भएर समाजको आवाज झंकार गर्न आग्रह गर्नुभयो ।
जानकी गाउँपालिकाका अध्यक्ष तथा सामुदायिक रेडियोका संस्थापक अध्यक्ष गणेश चौधरीले सामुदायिक रेडियो शुरुवातिदेखि नै सबैको साझा सम्पतिकारुपमा अभ्यास गरिएको बताउँदै यसलाई सधैभरी साझा सम्पतीकै रुपमा संरक्षण गरिनुपर्ने बताउनुभयो ।
जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीपकुमार चौधरीले आवाज विहिनको आवाज बन्न सामुदायिक रेडियोलाई सुझाव दिनुभयो ।
सामुदायिक रेडियो टीकापुर एफएमका पूर्व अध्यक्ष जंगबहादुर साउँदले उद्देश्य अनुसार सञ्चालन हुन सके मात्र संस्थाहरु दिगो र पारदर्शी हुने बताउँदै त्यस्ता कुरा सामुदायिक रेडियोबाट सिक्नुपर्ने बताउनुभयो ।
अर्का पूर्व अध्यक्ष नवराज रावल ले एकताका संस्थाको नविकरण गर्न समेत समस्या देखिएको रेडियो अहिले देशकै नमूना रेडियो बन्न पुगेकोमा सहयोगीहरुलाई धन्यवाद दिनुभयो ।
टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन विकले स्थानीय तहको प्रतिपक्षको भूमिका निर्वाह गर्न मिडिया क्षेत्रलाई आग्रह गर्नु भयो ।
सन्त निरंकारी मण्डलका केन्द्रिय अध्यक्ष नरबहादुर रावलले आध्यात्मिक ज्ञान विना समाजको विकास हुन नसक्ने बताउँदै सामुदायिक रेडियोले त्यो ज्ञान दिन सहयोग गरेको बताउनुभयो ।
नेपाली कांग्रेसका नगर सभापति नरेशकुमार खत्रिले सामुदायिक रेडियोले यसअघिका दिनहरुमा पनि राम्रो काम गरिरहेको बताउँदै अव आउने नेतृत्वले पनि राम्रो काम गर्दै जानु पर्ने बताउनुभयो । नेकपा एमालेका नगर अध्यक्ष ध्रुव खत्रिले समाजमा भएका कमीकमजोरी केलाउन सुझाव दिनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण चौधरी विकासले पत्रकारिताले समाजलाई जोड्ने काम गर्नु पर्ने बताउनुभयो ।
नेकपा एकिकृत समाजवादीका नेता सूर्यचन्द्र भट्टराइले रेडियोले अहिलेसम्म गरिरहेको कामको प्रसंशा गर्दै अवको नेतृत्वले एफएमको गतिशिलता बढाउन सुझाव दिनुभयो ।
नागरिक उन्मुक्ती पार्टीका नगर अध्यक्ष जीतबहादुर चौधरीले सामुदायिक रेडियोले टीकापुरमा सुशासन र सामाजिक न्यायका क्षेत्रमा काम गरिहरको भन्दै आभार व्यक्त गर्नुभयो । टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले सामुदायिक रेडियो पछाडी परेका समुदायको आवाज बन्न पुगेको बताउनुभयो ।
नागरिक समाज टीकापुरका संयोजक भिमराम चपाईले सामुदायिक रेडियो टीकापुर एफएमले पारदर्शिता र जवाफदेहिता का क्षेत्रमा काम गरिरहेको बताउँदै अवका दिनमा सबैका साझा तथा समावेशी मुद्धा उठान गर्न सुझाव दिनुभयो ।
जमरा कुलो जलउपभोक्ता समूहका अध्यक्ष मानबहादुर चौधरीले रेडियोले अहिलेका दिनसम्म राम्रो काम गरिरहेको बताउँदै कुनै पार्टीगत नभई समावेशी र निष्पक्ष रुपमा काम गर्न सुझाव दिनुभयो ।
रेडियो सञ्चालक समितिका अध्यक्ष रंगप्रसाद अधिकारीले साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै रेडियोले गरेका राम्रा काम मात्र नभई गर्न नसकेका कामहरुका बारेमा पनि आगामी दिनमा सुझावको अपेक्षा गरेको बताउनुभयो ।
रेडियो सञ्चालक समिति सदस्य कमला केसीले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन स्टेशन म्यानेजर एकिन्द्र तिमिल्सिनाले गर्नुभएको थियो ।
अध्यक्षमा पुनः अधिकारी
सामुदायिक रेडियो टीकापुर एफएमको अध्यक्षमा पुनः रंगप्रसाद अधिकारी चयन हुनु भएको छ । एफएमको शुक्रबार भएको सातौं साधारण सभाले अधिकारी लाई पुनः निर्विरोध चयन गरेको हो ।


सभाले सदस्यमा टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका विश्राम चौधरी, टीकापुर उद्योग वाणिज्य संघका नवराज रिमाल, खोटना भूराखानी सामुदायिक वन उपभोक्त समूहका सूर्यादेवि भट्टराई, वौनिया बजार व्यावस्थापन समितिका बालकुमारी सुनार, हुराड्सका कमला केसी, भानु सामुदायिक पूतकालयका सन्तोष नेपाली चयन हुनु भएको निर्वाचन अधिकृत मातृका तिमिल्सिनाले जानकारी दिनुभयो । नयाँ कार्यसमिति को पदावधी आगामी दुई वर्षका लागि हुनेछ ।