टीकापुर घटनाका आरोपितहरूको मुद्दा खारेज गर्ने सरकारको निर्णय

काठमाडौं, ३१ भाद्र/सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ । भदौ २७ गते बसेको मन्त्रि परिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।
सरकारले टीकापुर घटना सम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालय लाई निर्देशनसमेत दिएको छ । ‘मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
टीकापुर घटनासम्बन्धी आरोपितहरुको मुद्दा प्रक्रिया मिलाएर फिर्ता लिने मन्त्रि परिषद्ले निर्णय गरेको एक मन्त्रीले संचारकर्मीलाई बताए। ‘टीकापुर घटनासम्बन्धी मुद्दा फिर्ता लिने प्रक्रिया अब गृहले अगाडि बढाउने छ,’ ती मन्त्रीले भने ।
थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृ्त्वको सरकारबीच विसं २०७८ जेठ १८ गते ६ बुँदे सहमति भएको थियो । सहमति को पहिलो बुँदामै थरुहट थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटना मा आरोपित थारु कल्याणकारिणी सभाका सभापति धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायत माथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख
थियो ।


सरकारले सो सम्बन्धी निर्णय यही समितिलाई जानकारी गराएको स्रोतले जानकारी दिएको छ ।
तत्कालीन वार्ता टोलीमा सरकारको तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी रहेका थिए भने थारु कल्याणकारिणी सभा र संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पदम नारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहेका थिए ।
विसं २०७२ भदौ ७ मा कैलाली को टीकापुरमा आन्दोलनकारी र प्रहरीबीचच झडप हुँदा प्रहरी बरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो । टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो ।
यससँगै सरकारले विप्लव र स्वतन्त्र समूहको मुद्दा खारेजी प्रक्रिया पनि अगाडि बढाउने निर्णय गरेको छ ।
साभारः अन्नपूर्णपोष्टबाट