टीकापुर,९ असार/टीकापुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ ।
तेह्रौ नगरसभामा असार ७ गते उपप्रमुख खडकबहादुर शाहले प्रस्तुत गर्नु भएको ८१ करोड २३ लाखको बजेट ८ गते पारित भएको हो ।
७ गते सभामा पेस गरिएको बजेटमाथि छलफल नभएको र सभाका सदस्यहरुले छलफलका लागि समय माग गरेपछि ८ गते दिउँसो १ बजेसम्मका लागि सभा स्थगित गरिएको थियो ।
८ गते दिउँसो बसेको नगरसभामा नगरपालिकाको केन्द्रस्तरबाट सञ्चालन गरिने योजनाका लागि छुट्याईएको २ करोड बजेटका विषयमा सभाका सदस्यहरुले आपत्ति जनाएपछि आधा घण्टाका लागि सभा स्थगित गरिएको थियो ।
आधा घण्टापछि शुरु भएको सभामा नगरपालिकाको केन्द्र स्तरबाट खर्च गरिने २ करोड रकमका योजनाका बारेमा उपप्रमुख खडक बहादुर शाहले प्रस्ट पारेपछि सभाको कामकारवाहि अगाडी बढेको थियो ।
उपप्रमुख शाहले २ करोडका योजनाका विषयमा प्रस्ट पारेपछि नगर प्रमुख रामलाल डंगौरा थारुले बजेटलाई पारितका लागि सभामा निर्णयार्थ पेश गर्नु भएको थियो ।
बजेट पारित भएसंगै सभा अध्यक्ष तथा नगर प्रमुख रामलाल डंगौरा थारुले नगर अधवेशन सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नगरपालिकाको १३ अधिवेशन अन्त्य भएको घोषणा गर्नु भएको छ ।