टीकापुर,७ असार/टीकापुर नगरपालिकाको आ.व. २०८०/ ८१ को बजेट ८१ करोड २३ लाख १४ हजार ५ सय ६० को आएको छ ।
नगरपालिकाका उपप्रमुख खडक बहादुर शाहले चालू वर्षको संशोधित अनुमान एक अर्ब पाँच करोड १५ लाख ७१ हजार रुपियाँ रहेको र आउँदो वर्षका लागि संघीय अनुदानबाट ६४ करोड ९३ लाख ५५ हजार, प्रदेश सरकारको अनुदानबाट चार करोड ७७ लाख २१ हजार र नगरपालिकाको आन्तरिक आय ११ करोड ४२ लाख ३८ हजार हुने अनुमान गर्नुभएको छ ।
नगरपालिकाले विशेषज्ञ चिकित्सक सेवा, निशुल्क रगत, हाम्री छोरी प्यारी छोरी, मेयर प्राविधिक शिक्षा छात्रवृति कार्यक्रम, जनतासंग मेयर उपमेयर कार्यक्रम, आमासंग उपमेयर, होम टु हस्पिटल लगायतका पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ ।
समपूरक, विशेष र सशर्तबाहेक पूँजीगत खर्च २० करोड ५० लाख र चालूतर्फ २५ करोड ९८ लाख खर्च प्रस्ताव गरिएको छ । महामारी तथा विपद् व्यवस्थापन कोषमा एक करोड ४० जम्मा गर्ने एक वडा एक सडकका लागि सात करोड २० लाख बजेट छुट्टयाएको छ वडा विशेष आयोजनाका लागि २ करोड ६० लाख ६४ हजार बजेट छुट्टयाएको छ । नगरपालिकाले यस वर्षका करका कुनै पनि दरहरु परिवर्तन नगरेको जनाएको छ ।
प्रस्तुत बजेटका विषयमा सभाका ३ जना सदस्यले धाराणा राख्नु भएको थियो । सदस्य तथा वडा नम्बर ८ का वडाध्यक्ष दिर्घबहादुर ठकुल्लाले प्रस्तुत बजेटका विषयमा अध्यायन गर्ने समय नपुगेकाले अध्यायन गर्ने समय दिनुपर्ने बताउनु भएको छ ।
अर्का सदस्य खम्मबहादुर ठकुल्लाले पनि आफूले माग गरेको योजना सनकट्टी घाट जोड्ने बाटोमा बजेट नहालेको भन्दै छलफलै नगरी बजेट पास गर्न नमिल्ने बताउनु भयो ।
सदस्य भरत साउँदले प्रस्तुत गरेको बजेटका विषयमा आफूले कुनै मेलोमेसो नपाएको भन्दै सभाका सदस्यहरुलाई अध्यायन गर्ने समय दिएर बजेटमाथि छलफल गरिनु पर्ने सुझाव दिनुभयो ।
प्रस्तुत बजेट अध्ययनका लागि सभाका सदस्यले समय माग गरेकाले एक दिन अध्ययनको समय दिएकाले आज बजेटमाथि छलफल हुनेछ ।
असार ५ गते शुरु भएको नगर सभाको पहिलो दिन नगरप्रमुख रामलाल डगौरा थारुले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।