टीकापुर नगरपालिकामा कार्यरत नगर अनुदान शिक्षक सेवा सुविधा वृद्धिको माग गर्दै धर्नामा

टीकापुर, ३२ जेठ/टीकापुर नगरपालिकामा कार्यरत नगर अनुदान शिक्षकले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबारबाट नगरपालिकामा धर्ना शुरु गरेका छन् । शिक्षकहरुले आफूहरुले पनि अन्य शिक्षक सरह पारिश्रमिक पाउनुपर्ने, पारिश्रमिक सरकारले तोकेको दरअनुसार समेत नभएको भन्दै आन्दोलन थालेको बताएका छन् ।
शिक्षकका सेवा सुविधा सुनिश्चितताका लागि दवाव मूलक धर्ना कार्यक्रम शुरु गरेका शिक्षकहरुले विहान १० बजेदेखि ४ बजेसम्म पालिकाको ढोकामा धर्ना दिएकाले बुधबार नगरपालिकाको सेवा प्रभावित भएको छ ।


टीकापुर नगरपालिकामा ६८ शिक्षक कार्यरत छन् । उनीहरुले प्रावि तहकाले १६ हजार निमाविले १८ हजार पारिश्रमिक पाउँदै आएका छन् । उनीहरुले प्रावि तहमा कार्यरतले कम्तीमा २० हजार र निमावि शिक्षकले २२ हजार मासिक पारिश्रमिकको माग गरेका छन् । आफूहरुले पटक पटक माग पेश गर्दा समेत पालिकाले कार्यान्वयन नगरेपछि आन्दोलित हुनुपरेको उनीहरुको भनाइ छ ।
नगर शिक्षक संघर्ष समितिका अध्यक्ष ध्वजबहादुर ओडले बुधबारबाट शुरु भएको धर्ना तीन दिनसम्म जारी रहने र माग पूरा नभए त्यसपछि थप आन्दोलन का कार्यक्रम गर्ने बताउनुभयो ।
शिक्षक महासंघका नगर सचिव राजाराम ढकालले विगत दुई वर्षदेखि सेवा सुविधा वृद्धिको माग गर्दा पनि पालिकाले नसुनेकाले आफूहरु आन्दोलित हुनुपरेको बताउनुभयो ।
टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले नगर शिक्षकको पारिश्रमिक कम भएको भन्दै शिक्षा शाखाले १५ प्रतिशत तलव वृद्धि गर्न आवश्यक छ भन्दै नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाएको बताउनु भयो ।
यस विषयमा नगर प्रमुख रामलाल डगौरा थारु भन्नुभयो उहाँहरु नगर शिक्षक नभइ विद्यालयका शिक्षक भएको र अब पालिकाले अति आवश्यक भएको ठाउँमा नगर शिक्षक बनाउन पक्रिया शुरु गर्ने, मापदण्ड बनाएर नगर शिक्षकको मोडलमा जाने बताउनुभयो । उहाँले पालिकाले विद्यालयलाई अनुदान दिएकाले आन्दोलन छोडेर विद्यालयमा जान समेत शिक्षकहरु लई निर्देशन दिनुभयो ।