टीकापुर नगरपालिका नगर अनुदान शिक्षकको आन्दोलन स्थगित

टीकापुर, १ जेठ/टीकापुर नगरपालिका नगर अनुदान शिक्षकको आन्दोलन स्थगित भएको छ ।
बुधबारदेखि आन्दोलनमा उत्रिएका शिक्षकका माग नगरपालिकाले सम्बोधन गर्ने सहमती गरेपछि आन्दोलन स्थगित भएको हो । शिक्षकहरुले बुधबारदेखि नगरपालिकामा धर्ना दिएर कामकाज प्रभावित गरेका थिए भने बिहीबार यस क्षेत्रका सामुदायिक विद्यालय बन्द गरेका थिए ।
टीकापुर नगरपालिकाको आगामी नगर सभाबाट माग सम्बोधन गर्ने लिखित सहमति गरेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको नगर अनुदान शिक्षक संघर्ष समिति अध्यक्ष ध्वजबहादुर वडले बताउनु भयो ।
टीकापुर नगरपालिका प्रावि तहका अनुदान शिक्षकले सोह्र हजार र निमावि तहका शिक्षक ले १८ हजार तलव खाइरहनु भएको थियो भने आगामी आर्थिक वर्षदेखि १५ प्रतिशतका दरले तलवमान वृद्धि हुने भएको छ ।
सहमति पत्रमा टीकापुर नगरपालिका तर्फबाट सामाजिक विकास समिति संयोजक लालविर चौधरी र नगर अनुदान शिक्षकका तर्फबाट ध्वजबहादुर वडले हस्ताक्षर गर्नु भएको हो । टीकापुर नगरपालिकामा हाल ७२ जना शिक्षक टीकापुर नगरपालिकाको अनुदानमा कार्यरत छन् ।
सामाजिक विकास समिति संयोजक लालविर चौधरीले शिक्षकका माग सम्बोधनका लागि पालिका सकारात्मक भएकाले नगर सभामा सम्बोधन गर्नेगरी सहमती भएको बताउनुभयो ।