टीकापुर पार्कको संरक्षणमा वेवास्ता

टीकापुर २९ मंसिर/आर्थिक वर्ष २०६४/०६५ मा टीकापुर पार्कलाई लिजमा दिने गरी टीकापुर नगरपालिकाले छलफल चलायो । प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले संयन्त्रका सदस्य र स्थानीय पार्टी प्रतिनीधि तथा बुद्धिजीविसँग व्यापक छलफल चलाउनुभयो । छलफलको एउटै उद्देश्य थियो नगरपालिकाले पार्कको संरक्षण गर्न सक्दैन कुनै निजी संस्थालाई लिजमा दिएर पार्कको संरक्षण गर्नुपर्छ भन्ने । छलफलमा माओवादी बाहेक अरुले पार्क टीकापुरको सम्पत्ति हो जसरी पनि संरक्षण हुनुपर्छ भन्नेमा थिए भने जनयुद्धबाट भर्खरै शान्तिपूर्ण बाटोमा आएका माओवादीको एउटै स्वर थियो ‘टीकापुर पार्क हाम्री आमा हुन्’, यसलाई लिजमा दिन पाइदैन भन्ने । अन्य दलका नेताहरुले माओवादीका नेताहरु लाई पटकपटक सम्झाउने प्रयास गरे तर राष्ट्रवादबाट ओतप्रोत भएको जस्तो देखाएर माओवादीले पार्कलाई राष्ट्रियता को सवाल बनाए ।
त्यहि छलफलबाट पार्क लिजमा दिने बिषय टुगिंयो । छलफल र बहस शुरु भएको १४ वर्ष भयो तर स्थानीय राजनीतिक दल पार्कका बारेमा ठोस निर्णय लिनुप¥यो भनेर स्थानीय सरकारलाई दबाब दिएको पाइदैन । पार्क लिजमा दिने कुरा स्थानीय स्तरमा उठ्ने गरेपनि नगरपालिकाले आजसम्म ठोस निर्णय गरेको   छैन ।


लिजमा नदिने निर्णय गरेपनि नगरपालिकाले पार्कमा खासै लगानी गरेको देखिदैन ।बर्सेनि केही बजेट छुटयाइएपनि अति न्यून बजेट छुट्याइएको हुन्छ । त्यसरी छुट्याइएको बजेटले गुलावको फूल संरक्षण गर्न समेत पुग्दैन । २०७४ सालमा निर्वाचित भएर आएका जनप्रतिनीधिले पार्कमा देखिने गरी गरेको काम गेट र पर्खाल मात्र हो । त्यसबाहेक सामान्य लगानी भएको पाइन्छ । निवर्तमान मेयर तपेन्द्रबहादुर रावलले आफ्नो कार्यकालमा पार्क विकासका लागि गुरुयोजना र केही संरचना निर्माण गरेको बताउनुभयो । ‘‘टीकापुरको आकर्षकका रुपमा रहेको पार्कको विकास र व्यवस्थापकीय पक्षमा सुधार ल्याउनका लागि विभिन्न सरोकारवालासँग छलफल चलायौं । कार्यकालको दोस्रो वर्षमै पार्क पछाडिको क्षेत्रमा वाटर पार्क सहितको गुरुयोजना निर्माण गरेका छौँ’’, रावल भन्नुभयो ’’, “राष्ट्रियस्तरमा रहेका उद्योगपति सुमार्गी, वैद्य लगायतसँग छलफल गरेका थियौँ । उहाँहरु पार्कमा लगानी गर्न तयार हुनुहुन्थ्यो ।’’ रावलले कोभिडपछि लगानी गर्न उद्योगपतिहरु सकारात्मक हुनुहुन्थ्यो भन्नु भयो ।
पार्कमा लगानी भित्र्याउन, पार्क लिजमा दिनेबारे उहाँहरुसँग निरन्तर छलफल भएको बताउँदै उहाँले पछिल्लो समय नगरपालिकाले पार्क विकासका लागि कुनै सकारात्मक भूमिका नखेलेको र आफूहरुसँग सरसल्लाह नलिएको बताउनु भयो । ‘‘जुन प्लानका साथ पार्क विकास गर्ने योजना थियो त्यो अबरुद्ध भएको महसुस गरेको छु ।’’ निवर्तमान मेयर रावलले भन्नु भयो ,
‘‘उहाँले लगानी कर्ताहरु कोभिड पछिको सहजता कुरिरहेकाले अब सामान्य स्थिति भइसकेकाले योजनाअनुसारका संरचना निर्माणमा लगानीकर्ता सँग कुरा गर्नुपर्छ भन्नुभयो । “मेरो कार्यकालमा गुरुयोजना बन्यो, गेट र भैरव मन्दिरको डिपिआर बन्यो, पार्कको गेट निर्माण भयो । जिर्ण संरचना मर्मतका काम भए, पार्क क्षेत्रमा तटबन्ध, पार्कको तल्लो क्षेत्रमा व्यवस्थित मसानघाट बनेको छ ।’’ रावलले भन्नुभयो ।
बजेट अभावले चाहेजति गर्न सकिएन तर सबै संरचना सहितको योजना बनेकाले त्यसलाई अगाडि बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । ‘‘पार्क संरक्षणकै कुरा गर्दा अहिले पार्क क्षेत्रमा जंगली जनावरको आक्रमण समेत बढेको छ’’, रावलले भन्नुभयो, ‘‘बाँदरले पार्कमा भएका फुलहरु नष्ट गर्ने, हात्तीको आतंक बढ्ने, कर्णाली नदीको वहाव परिवर्तन भएकाले कर्णालीको सदुपयोग गरेर यसलाई थप विकास र व्यवस्थित बनाउन आवश्यक छ ।’’
नगरपालिकाका इन्जिनियर नवराज जोशीले पार्कको गेट र भैरव मन्दिरको डिपिआर बनेको र बाँकी पार्क क्षेत्रको गुरुयोजना बनेको बताउनुभयो । नगरपालिकाले गेट रु.एक करोड र रु.२० लाखको भैरव मन्दिरको डिपिआर बनाएको हो । नगरपालिकाले डिपिआर र पार्कको गुरुयोजना बनाउन रु। १४ लाख खर्च गरेको जोशीले जानकारी दिनुभयो ।
‘‘गुरुयोजनामा कता के के बनाउने भन्ने छुट्याइएको छ । गुरुयोजनामा म्युजियम,हल,रेष्टुरेन्ट, भलिभल खेल्ने ठाउँ, घोडी सवार, साइकिलिङ, वार्क क्षेत्र, प्रशासनिक भवन, गार्ड क्वाटर, वाटर पार्क, चिल्डन पार्क, गेम खेल्ने ठाउँ, पार्किङ एरिया लगायत २० संरचना बनाइएका छन्’’, जोशीले भन्नुभयो, ‘‘यसअघि पार्कको नक्सा थिएन । नक्सा तयार भएको छ । अब संरचना निर्माण गर्दा योजनाले सहयोग पुग्छ ।’’
राजधानीबाट टीकापुरमा आउने हरेक ठूला घरानीया उद्योगपतीसँग पार्कको विषेशता र संरक्षणका बारेमा स्थानीय जनप्रतिनीधि तथा सामाजिक अगुवाले बेलाबखत छलफल गर्ने गरेका छन् । ‘‘सुमार्गी, सुरज वैद्य, चन्द्रप्रकाश ढकाल जस्ता ठूला उद्योगपतिले पार्कप्रति चासो देखाउनुभएको हो, स्थानीय सरकारले चासो नदिएपछि अरुको के लाग्छ रु,’’ स्थानीय समाजसेवी नवराज रावलले भन्नुभयो,‘‘५० वर्षलाई लिजमा लिने र ६/७ अर्ब लगानी गर्ने उद्योगपतिले आफुहरु सँगको छलफलमा भन्नुभएको हो ।’’ उहाँले पार्क लिजमा दिएर लगानी बढाउने हो भने आन्तरिक र बाह्य पर्यटक टीकापुर आउने वातावरण बन्छ भन्नुभयो । ‘‘टीकापुर नगरपालिकाले पार्कको संरक्षण गर्न सक्दैन भन्ने सबैलाई थाहा छ तर कतिपयले बुझ पचाएका छन् भने जनप्रतिनीधि पार्कका बारेमा ठोस निर्णय लिनु भन्दा कार्यकाल गुजार्नमै व्यस्त छन् ।’’, रावलले भन्नुभयो ।
पार्कको अवस्था दयनीय
वि.सं. २०३४/०३५ सालमा स्थापना भएको टीकापुर पार्क यस क्षेत्रको पहिचान      हो । टीकापुरको बस्ती बसाल्न मुख्य भूमिका खेलेको पार्क र वीरेन्द्र विद्या मन्दिरको अवस्था कमजोर भएको छ । स्व। राजा महेन्द्रले स्वास्थ्यलाभ लिएको पार्क संरक्षण नहुँदा यतिखेर आम नागरिक निरास छन् । स्थापना भएको करिव ४४बर्ष भयो तर पार्कको संरचनामा खासै प्रगति भएको पाइदैन । बरु भएका संरचना जिर्ण हुँदै गएका छन् भने कतिपय संरचना भत्केको अवस्था छ ।


जिर्ण भएका संरचना र भत्केका संरचना पुननिर्माण गर्न नगरपालिकाले सकेको छैन । पार्कमा भएको झाडी मास्ने काम भएको भन्दै स्थानीय बासिन्दा पूर्व उपमेयर लाल बहादुर चौधरीले गुनासो गर्नु भयो । ‘‘पार्कमा मान्छे मात्र होइन चराचुरुङगी र अन्य जनावर पनि रमाउने ठाउँ हो ,’’ पूर्व उपमेयर चौधरीले भन्नुभयो,‘‘ पार्कमा भएको बाक्लो झाडीमा आगो लगाएर दुम्सी, लोखरके,खरायो जस्ता जनावर मास्ने काम भयो ।’’ उहाँले पार्कमा नाम मात्रको लगानी भएको बताउँनु भयो ।
‘‘तत्कालिन टीकापुर विकास समितिले त्यतिबेला पार्कका लागि लाखौँ खर्च गथ्र्यो र पार्क पार्क जस्तो थियो,’’ चौधरीले भन्नुभयो, ‘‘पार्कको साधन स्रोत पारदर्शी तरिकाले चलाउने हो भने पार्क टीकापुर नगरपालिकाले सञ्चालन गर्न सक्छ ।’’ जिम्मेवारी पाएको व्यक्ति गैरजिम्मेवार हुँदै गएपछि पार्क मात्र होइन समग्र टीकापुरको अवस्था दयनीय हुँदै गएको चौधरीले बताउँनुभयो । २०३४÷ ३५साल तिर स्थापना भएको टीकापुर पार्कमा रहेको कर्णाली नदीलाई सदुपयोग गर्दै नदी र पार्कलाई व्यबस्थित गरेर पर्यटन आउने वातावरण बनाउने सवालमा स्थानीयको ध्यान गएको पाइदैन । सुधार तथायुग अनुसार पार्कको क्षमता विस्तार र सुन्दर बनाउने योजनाका लागि नगरपालिकाले योजना तयार गरेको छ तर बजेटको सुनिश्चितता केही छैन ।


पकाएर खाँने ठाउँ धुलाम्मे
पिकनिक खाने स्थलमा धुलो उड्ने गरेको छ । खाना पकाएर खाने अवस्था छैन । पार्कमा रमाउन आउनेहरु खाना पकाएर खाने स्थलमा पुगेपछि दिक्क हुने गरेका छन् । त्यहां व्यवस्था गरिएको खानेपानी र शौचालय समेत अस्तव्यस्त देखिन्छ । खानेपानी र भएको शौचालयलाई व्यवस्थित गर्ने हो भने पार्क घुम्न आएकालाई सहज हुने देखिन्छ । खाना खाने ठाउँमा बस्ने व्यवस्था र अन्य संरचना तयार गर्न करोडौँ लगानी गर्नुपर्दैन । बालकल्याण प्रावि बारबर्दियाका अध्यक्ष जनकबहादुर शाहीले पार्कमा खाएर बस्ने व्यबस्था राम्रो नभएको बताउँनु भयो । ‘‘म दोस्रोपटक आए केही फरक भएको छ भनेर हो, यस्तो धुलोमा पकाएर खानुपर्दा सबैको चित्त दुखेको हुनुपर्छ, आकर्षक गेट तयार भएको रहेछ,’’ शाहीले भन्नुभयो, ‘‘टाढाटाढाबाट पिकनिक खान आउनेहरु लाई सुविधा कसरी हुन्छ भन्ने बारेमा स्थानीय नेतृत्वले ध्यान दिनु पर्छ ।’’उहाँले पार्क यस क्षेत्रको पहिचान भएको स्थानीयले बुझ्नुपर्छ भन्नुभयो ।
पिकनिक खान आएका टीकापुर १ का मकुश चौधरीले पार्क फोहर भएको बताउँनु भयो । उहाँले पार्कमा खान बस्न सहज हुने वातावरण बनाउन आवश्यक छ भन्नुभयो । बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नम्बर ६ का अर्जुन चौधरीले पार्कका बारेमा सुनेका थियौँ भन्दै कस्तो छ भनेर परिवार सहित घुम्न आएको छौँ भन्नुभयो । ‘‘पहिलो पटक आएका हौँ, रमाइलो लाग्यो तर फूल र पार्क पुरानो भइसकेको रहेछ,’’ चौधरीले भन्नुभयो,‘‘बाहिर गेट बाट पस्दा रमाइलो छ तर पार्कलाई व्यवस्थित गर्न जरुरी छ ।’’ उहाँले सरकारले यस्ता बगैँचामा बजेट दिनुपर्ने हो भन्दै कर्णाली नदीले गर्दा झनै राम्रो लाग्यो भन्नुभयो ।
बजेटको दुरुपयोग
नगरपालिकाले २०६४ साल यता कति बजेट खर्च ग¥यो भन्ने बारेमा एकिन तथ्याकं दिन सक्दैन । निर्माण भएका संरचनालाई विश्लेषण गर्ने हो भनेपार्कमा खासै लगानी गरेको पाइदैन । तीन वर्षअघि पार्कको गुरुयोजना तयार पार्ने काम भएको छ । गुरुयोजना बनाउने काम भएपनि लागत खर्च कति लाग्छ भनेर नगरपालिकाले बिश्लेषण गरेको पाइदैन । पार्कमा बेलाबखत लगानी गरेको बजेट बालूवामा पानी हाले सरह भएको पाइन्छ । पार्कभित्र बनाइएका संरचना कमशल खालका छन् भने लाखौँ खर्च गरेर निर्माण गरिएको फोहरा सञ्चालनमा आएन । लाखौँ बजेट फोहरामा खर्च गरियो तर एकपटक पनि राम्रोसँग चलेनन् । कहिलेकाहीँ आउने बजेट यसरी दुरुपयोग भयो । एकताका गुलावको बगैँचा भनेर चिनिने पार्कमा अहिले गुलाव केही देख्न त पाइन्छ तर तिनका बिरुवा हेर्ने हो भने लाज मान्नुपर्ने अवस्था छ ।


गुलावलाई बाख्राको मल आवश्यक पर्छ तर नगरपालिकाले त्यही मल पनि प्रयाप्त ल्याउन सकेको छैन । अन्य फूल त देख्न पाइदैन । फूल थप्नेभन्दा पनि भएका मासिएको अवस्था छ । पार्कमा निर्माण भएका बार भत्किएका छन् । पछिल्लो समय कंक्रिट वाल लगाउने काम भयो । कंक्रिट वालले पार्कको सुन्दरता कम गरेको छ । पार्कको सुन्दरतामा समेत नगरपालिकाले ध्यान दिएको पाइदैन । पुराना संरचना बचाउने काम भएको छैन । महेन्द्र विश्राम गृह र बीरेन्द्र विश्राम बाटिकाको जेनतेन संरक्षण गर्ने काम भए पनि भित्रका प्रयोग हुने सामग्री चोरिएका छन् । महेन्द्र विश्राम गृह र बीरेन्द्र विश्राम बाटिका भित्रका सामग्री कसले लग्यो केही अत्तोपत्तो छैन ।
आर्थिक र जनशक्तिको अभाव टीकापुर नगरपालिका का कर्मचारी तथा पार्कका इन्चार्ज अर्जुन कँुवर टीकापुर पार्क दयनीय अवस्था पुग्नुको एउटै कारण आर्थिक र जनशक्ति अभाव हो भन्नुहुन्छ । कुँवरले पार्कमा १३ जना कर्मचारी मात्र रहेको बताउँनुभयो । सफाई र गोडमेल गर्ने ४ जना मात्र छन् । २ जना चौकिदार, २ जना कटिङ गर्ने, मेसिन चलाउने, नर्सरी संरक्षण गर्ने, अपरेटर र काउण्टरमा एक एकजना कर्मचारी छन् ।
‘‘गोडमेल गर्न भ्याइएको छैन, सिजलन फूल लगाउन कर्मचारी अभाव छ,’’ कुँवरले भन्नुभयो, ‘‘बजेट अभावका कारण भत्किएका संरचना मर्मत गर्न सकिएको छैन ।’’ अघिल्लो वर्ष १० लाख बजेट आएको हो यस वर्ष २० लाख रुपैया छ ।’’
‘‘यसरी आएको बजेटबाट फूल खरिददेखि मर्मत तथा बाख्राको मल खरिद गर्नुपर्छ,’’ कुँवरले भन्नुभयो ,‘‘ पार्कलाई व्यवस्थित गर्ने हो भने पर्यटक बढ्छन् र आम्दानी पनि बढ्छ ।’’ उहाँले भौतिक संरचना बनाउँदा दीर्घकालिन सोच राखेरबनाउनु पर्ने र पार्कलाई विस्तार गर्नुपर्ने बताउनुभयो । ‘‘पार्कमा एकै दिन चार हजारदेखि आठ हजारसम्म पर्यटक आएको रेकर्ड छ,डेढ सयदेखि चार सय पर्यटक त सामान्य अवस्थामा आउने गरेका छन्,’’ कुँवरले भन्नुभयो, ‘‘पार्क लाई व्यवस्थित गर्ने हो भने अहिलेको संख्याभन्दा दोब्बर आन्तरिक र बाह्य पर्यटक आउँछन् ।’’
सुरक्षा चुनौती र स्वागत संस्कारको कमी
पार्कमा पर्यटक आउने वातावरण बनाउन सुरक्षा तथा सम्मानका लागि स्थानीय सरकारले नीति बनाउन जरुरी छ । पार्कमा हुने कतिपय कुटपिट का घटना र अन्य घटनामा स्थानीय युवाहरुको संलग्नताले बाहिरबाट आउने पर्यटकहरुलाई सुरक्षा चुनौती हुने गरेको छ । घुम्न आउने कसैले पनि झण्झट बेहार्नु नपरोस् भन्ने बारेमा टीकापुर सचेत भएको पाइदैन । पार्क घुम्न आएका पर्यटकलाई कसरी सम्मानपूर्वक व्यबहार दिएर पठाउन सकिन्छ भन्ने बारेमा स्थानीय सरकारले नागरिक लाई चेतना जगाउने कार्यक्रम ल्याएको पाइदैन ।
टीकापुर घुम्न आउने पर्यटक निर्वादरुपमा आउजाउ गर्ने वातावरण बनाउन जरुरी छ । पर्यटकलाई सम्मान गर्ने प्रचलन स्थानीय सरकारले बसालेको पाइदैन । पर्यटकीय क्षेत्रको विकास गर्न पर्यटकलाई सम्मान गर्ने संस्कृति बसाल्ने सवालमा कसैको ध्यान गएको छैन । ‘‘पर्यटकीय क्षेत्रको विकासमा योगदान पु¥याउने पर्यटकलाई सम्मान गर्नुपर्छ,’’ टीकापु स्थित सम्बाद समूहका सदस्य तथा महिला नेतृ निर्मला कडायतले भन्नुभयो,‘‘टीकापुर गएपछि सम्मान पाइन्छ भन्ने भावनाको विकास गर्न पर्यटकलाई कुनै समस्या नहोस् भन्ने रणनीति हुनुपर्छ ।’’
‘‘अन्यत्रबाट आउने नागरिकको टीकापुरमा सम्मान र सुरक्षा ग्यारण्टी हुनुपर्छ अनी मात्र पार्कमा निर्धक्क पर्यटक आउछन्,’’ कडायतले भन्नुभयो,‘‘पँसा खर्च गर्नेले त जहाँ सम्मान र सुरक्षा पाउँछ त्यहि गएर रमाइलो गर्छ ।’’ फुर्सदको समयमा घुम्न आउने मान्छेले शान्ति खोजेको हुन्छ त्यो वातावरण टीकापुरले सृजना गर्नुपर्ने कडायतको भनाइ छ ।
नगर प्रमुख रामलाल डगौरा थारुले पार्क विकासका लागि प्रदेश र संघका सांसदसँग छलफल भएको बताउँदै प्रदेश र संघको बजेट भित्र्याएर पार्कको विकास गर्ने बताउनुभयो । ‘‘पार्क अब सुटिङ स्थल बनोस्, पार्कमा लगानी भित्रियोस् भन्ने योजना छ’’, नगर प्रमुख थारुले भन्नु भयो,‘‘पार्कमा फोहोर व्यवस्थापन का लागि हामी प्लाष्टिक निषेध गर्न थालेका छौँ । पार्क पिकनिक स्थलमा पनि दुना र टपरी मात्र प्रयोग गर्न पाइने व्यवस्था गर्दैछौँ ।’’
उहाँले पार्कमा जिर्ण रहेका संरचना मर्मत गर्ने र फोहोर व्यवस्थापनमा सुधार गर्ने बताउनु भयो । ‘‘केही दिनमा पार्क राम्रो हुन्छ, हामीले आफैंले बजेट धेरै खर्च गर्न सक्ने अवस्था छैन, केन्द्र र प्रदेशको बजेटका लागि नव निर्वाचित सांसदहरु सँग गम्भिर छलफल र विभिन्न मन्त्रालय तथा दातृ निकायसँग वृहत छलफल भइरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘पार्क संरक्षण र विकासका लागि बाह्य जिल्ला का मानिस भित्र्याउन का लागि हामी जिम्मेवार भएर लागेका छौँ ।’’