टीकापुर महोत्सवको उद्घाटन नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष तथा संघिय सांसद रञ्जीता श्रेष्ठले गर्ने

टीकापुर, ४  माघ/आजबाट शुरु हुने सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी पुरा भएको छ ।
आयोजक टीकापुर उद्योग बाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी दिएको हो ।
टीकापुर महोत्सवको उद्घाटन नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष तथा संघिय सांसद रञ्जीता श्रेष्ठले गर्ने आयोजक उद्योग बाणिज्य संघले जनाएको छ ।
टीकापुर उद्योग बाणिज्य संघले यसपटक टीकापुर हवाई मैदान सञ्चालन, यातायात कार्यालय र आयल निगमको डिपो स्थापना, केराको पकेट क्षेत्र घोषणा, औद्योगिक क्षेत्र घोषणा, चिसापानी कुइने सडक निर्माण, कर्णाली नदि व्यवस्थापन गर्न तटबन्ध गर्नु पर्ने माग राख्ने योजना बनाएको संघका प्रथम उपाध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो ।


यस पटकको महोत्सवमा कृषी प्रदर्शनी, विज्ञान प्रदर्शनी, शिक्षा प्रदर्शनी, थारु गाउँ आकर्षकका रुपमा रहने छन् । यसले गर्दा यहाँका नागरिकमा भएको क्षमता वा कलाको प्रवद्र्धन हुने अपेक्षा गरिएको संघका अध्यक्ष चक्रपाणी सापकोटाले जानकारी दिनुभयो ।
महोत्सव अवलोकनका लागि वृद्ध भत्ता पाउने जेष्ठ नागरिकले वृद्ध भत्ता पाउने परिचय पत्रका आधारमा निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको पनि अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
२०६५ सालबाट टीकापुरमा महोत्सव आयोजना गर्न थालिएको हो । यसपटक गरी टीकापुरमा ११ पटक महोत्सव आयोजना हुँदैछ । महोत्सवले आन्तरिक पर्यटन प्रबद्र्धन,मनोरञ्जनसँगै ब्यापारिक विकास र टीकापुरका सम्भाब्यताको खोजी हुने अपेक्षा गरेको छ । माघ ४ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५० ओटा स्टल राखीएका छन् ।
टीकापुर महोत्सवमा स्थानीय देखि राष्ट्रिय कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । महोत्सवमा स्थानीय विद्यालयबीच नृत्य प्रतियोगिता, विभिन्न समूहका नाटक, नृत्य, सांस्कृतिक प्रदर्शनी, स्थानीय कलाकार र राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछन् । महोत्सवमा ५० भन्दाबढी कलाकारले मनोरञ्जन दिनेछन् ।


महोत्सवमा दर्जनौँ विद्यालयको नृत्य प्रस्तुती रहनेछन् । महोत्सवमा बाल कलाकार सुप्रिम मल्ल, भीम बिष्ट अछामी रेखा, लालबहादुर धामी अछामी बड्डो, रामजी खाँण, सन्दिप क्षत्री, शोभा त्रिपाठी, मेलिना राइ, चक्र बम, मञ्जु पौडेल, एलिना चौहान, टंक तिमिल्सिना, रचना रिमाल, अनिता चलाउने, मञ्जु पौडेल लगायतका कलाकार आउने सांस्कृतिक व्यवस्थापन समितिका संयोजक तपेन्द्र कुँवरले जानकारी दिनु भयो ।


महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका कृषि उत्पादन प्रदर्शनीमा राखिदैछन् । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि तर्फ, टीकापुर बहुमुखी क्याम्पस, प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थीका उत्पादन र अन्य किसानका उत्पादन प्रदर्शनीमा राखिनेछन् ।