टीकापुर ,२९ पुस/टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी तिब्ररुपमा भइरहेको छ ।
महोत्सव स्थलमा टेण्ट निर्माण देखि स्टल बुकिङका काम भइरहेका छन् । महोत्सव को ८० प्रतिशत तयारी पूरा भएको संघले जनाएको छ । ‘‘अहिले सम्मको काम ८० प्रतिशत भइसकेको छ, २० प्रतिशत बाँकी छ,’’ संघका अध्यक्ष चक्रपाणी सापकोटाले भन्नुभयो, ‘‘झुला देखि लिएर टेण्टको सबै काम भएको छ यसमा पनि २० प्रतिशत बाँकी छ । मेलाहरुको काम जेजे गर्नुपर्ने छ,जस्तो थारु गाँउ म्यानेज गरिसकेका छौँ ।’’
महोत्सवमा व्यापारिक प्रयोजनका लागि राखिएका ९० वटा स्टल लगभग सबै बुकिङ भैसकेको अध्यक्ष सापकोटाले जानकारी गराउनुभयो । महोत्सव उद्घाटन गर्न प्रधान मन्त्रीका लागि पहल भइरहेको पनि अध्यक्ष सापकोटाले जानकारी गराउनुभयो । ‘‘उहाँसँग कम्युनिकेशन मै छौँ भएन भने अरु अप्सन खोज्नु पर्ने अवस्था पनि छ ।’’ सापकोटाले भन्नुभयो ।
उहाँले अघिल्लो महोत्सव यस पटकको महोत्सवमा धेरै कुरा चेञ्ज छ भन्नुभयो । ‘‘बाल उद्यान टाइपका लिएर टीकापुर बहुप्राविधिक शिक्षालयले एउटा ठूलै पोजेक्ट ल्याएर कार्यक्रम गर्दै छ,’’ सापकोटा ले भन्नुभयो ,‘‘विद्यार्थीहरु लाई सिकाई जस्ता कार्यक्रम छन् ।’’
माघ ४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा यसअघि झैँ ‘औद्योगिक, साँस्कृतिक, शैक्षिक, कृषि एवम् पर्यटकीय सम्भावना ः समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने मूल नारा रहेको छ । महोत्सव स्थलमा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका स्टल शुल्क २५ सय रुपैयाँदेखि २५ हजार रुपैयासम्म तोकिएको छ ।
‘‘महोत्सवबाट ५० देखि ६० लाख रुपैया आम्दानी हुने अनुमान गरेका छौ । ३५ देखि ४० लाख रुपैयाँ खर्च हुने र टिकटबाट २५ देखि ३० लाख रुपैया आम्दानी हुने अनुमान गरेका छौँ,’’ संघका उपाध्यक्ष कृष्ण बजगाईले भन्नुभयो ।
महोत्सवले आन्तरिक पर्यटनको प्रबर्धन गरोस् भन्ने चाहना संघको भए पनि टीकापुरमा आउने सडक राम्रो नहुँदा पार्क घुम्न आउने पर्यटकले सास्ती बेहोर्ने गरेका छन् भने टीकापुर पार्कमा विगत भन्दा फरक केही नभएपछि एउटै कुरा कति हेर्ने भन्ने गुनासो आउन थालेको छ । कतिपयले त पार्क पहिले भन्दा कुरुप हुँदै गएको गुनासो गर्ने गरेका छन् ।
महोत्सव बाट हुने आम्दानी र खर्च पारदर्शी नहुँदा स्थानीय स्तरमा व्यापाक बिरोधका स्वर आउने गरेका छन् । संघ सबैको संस्था भए पनि कतिपयले महोत्सवलाई आफ्नो मोजमस्ति गर्ने समयका रुपमा प्रयोग गर्ने गरेका छन् । आयोजकले आफ्ना मान्छेलाई सित्तैमा प्रवेश दिनेदेखि भित्र राखिएका स्टलमा नास्ता खुवाउने गरेका छन् । महोत्सव गर्दा व्यापारीको भावनालाई समेत सम्मान गरेको पाइदैन ।