टीकापुर विद्युत कर्मचारीको मनपरी इञ्जिनियर धामीको पैसा मोह

टीकापुर, १८ जेठ/टीकापुरस्थित विद्युत प्राधिकरणका कर्मचारीको मनपरीले सेवाग्राही ले सास्ती बेहोर्नु परेको छ । कार्यालयमा जेठ १४ गते विहान १० बजे भोल्टेज कम भइ फ्रिज, एसी लगायतका उपकरण नचलेको भन्दै टीकापुर ‘बी’ का सेवाग्राहीले निबेदन दिएको ५ दिनसम्म पनि कार्यालयले चासो दिएको छैन । यस्तो प्रचण्ड गर्मीमा कार्यालयले चासो नदिएपछि सेवाग्राहीले बुधवार राति साढे ८ बजे कार्यालयमै गएर गुनासो गरेपछि इञ्जिनियिर जीतबहादुर धामीले बिहिवार बिहान ८-९ बजे आएर हेछौं भन्ने आश्वासन दिए ।
बिहान ९ बजेसम्म नआएपछि सेवाग्राहीले सम्पर्क गरेपछि धामीले भनेकै बेला कहाँ हुन्छ भनेर कड्किए । सेवाग्राहीले तपाई आफैँले ८-९ बजेसम्म आउँछु भनेकाले सम्र्पक गरेको बताएपछि धामीले नआउन पनि सक्छु के गर्नहुन्छ भन्दै उल्टो कस्सिए । यही शैलीमा टीकापुरका विद्युत कर्मचारीले सेवा दिइरहेको अवस्था छ । ‘‘प्राधिकरणका कर्मचारी भ्रष्ट छन्, बिना पैसा काम गर्दैनन्’’, स्थानीय सूर्यबहादुर रावलले भने, ‘‘विद्युत सेवा अतिआवश्यक सेवामा पर्छ भन्ने नबुझेका कर्मचारी छन्, कसरी हुन्छ सेवाग्राहीलाई झुलाउने र पैसा असुल्ने भन्नेमा छन् ।’’
आफैले तोक लगाएको निवेदनका बारेमा सम्पर्क गर्दा कार्यालयका प्रमुख कपिल जोशीले फोन उठाएनन् । सेवाग्राहीले बुधवार २० पटक फोन गर्दा पनि जोशी सम्पर्कमा आउन चाहेनन् । फ्रिज पनि चल्दैन भनेपछि सबै ठाउँ उस्तै हो, पानी परेपछि ठीक हुन्छ भनेर इञ्जिनियर धामीले तर्क गर्दै थिए । जुन सेवाग्राहीसँग पैसा झार्न पाइन्छ त्यही प्राथमिकतामा राखेर इञ्जिनियरले काम गर्ने गरेको कार्यालय भित्रकै कर्मचारीले भन्ने गरेका छन् ।


स्रोतका अनुसार इञ्जिनियर धामी बिहान उठेदेखि कहाँबाट पैसा आउँछ भनेर हिसाव किताव गर्नमा तल्लिन हुन्छन् । कतिपयले इञ्जिनियर धामी कुन दिन अख्तियारको फन्दामा पर्ने हुन् भनेर भन्ने गरेका छन् ।
यस्तो गर्मीको समयमा विद्युतका कर्मचारी बिदामा बस्ने गरेका छन् । कार्यालय प्रमुख यतिखेर बिदामा छन् भने दुई दिन अघि सम्म इञ्जिनियर धामी बिदामा बसेको बताउँछन् । यता युनिट इन्चार्ज प्रेम प्रसाद जैसी पनि बिदामा बसेका छन् । यसरी माथिल्लो तहका कर्मचारी बिदामा बसेको भने पनि भित्र–भित्र रकम आउने काम गरिरहन्छन् । तल्लो तहका कर्मचारी लाई फिल्डमा खटाए पनि भोल्टेजका बारेमा कुरा गर्दा केही थाहा छैन भन्ने जवाफ दिने गरेका छन् ।
उसो त वर्तमान कार्यालय प्रमुख आएपछि इञ्जीनियर धामी मिलेर लोडसेडिङ बढाएर व्यापारी लाई खुसी पारिरहेको बुझिएको छ । इञ्जिनियर धामीले रकम नदिने सेवाग्राहीलाई दुव्र्यबहार समेत गर्ने गरेका छन् ।
एक वर्षअघि मात्र जानकी ४ मुनवामा दुर्गौली जाने बाटोमा भएको ५० केभीको ट्रान्सफरमरले काम नगरेपछि १०० केभीको राख्ने निर्णय भए पनि धामी कै कारण १०० केभीको ट्रान्सफरमर अन्यत्र राखिएको स्थानीयको भनाइ छ ।
विद्युतका कार्मचारीको मनपरी ले नागरिक आक्रान्त भएको जानकी ४ मुनुवाका स्थानीयले गुनासो गरेका छन् ।