टीकापुर ५ पहाडीपुरमा राधाकृष्ण मन्दिरमा प्राण प्रतिष्ठा सहित मूर्ति स्थापना

टीकापुर, १८ भाद्र/टीकापुर ५ पहाडीपुरमा राधाकृष्ण मन्दिरमा प्राण प्रतिष्ठा सहित मूर्ति स्थापना गरिएको छ । ३ दिनसम्म प्राण प्रतिष्ठा यज्ञ गरेर मूर्ति स्थापना गरिएको हो । मन्दिर स्वर्गिय प्रेमराज शाहीको जग्गामा निर्माण गरिएको छ ।
स्वर्गिय प्रेमराज शाही, उहाँका श्रीमती कल्याणी शाही र कालिका शाहीको मृत्यु पश्चात १४ कठ्ठा जमीन मन्दिरका लागि प्रयोग गर्ने सहमति स्थानीयले गरेका हुन् । शाही सम्पत्ति निसन्तान रहेकाले उहाँको सम्झनामा उहाँका आफन्त कुमारराज शाहीको सल्लाहमा गाउँलेले गाउँमा राधाकृष्णको मन्दिर निर्माण गरेका छन् ।


शाहीको १७ कठ्ठा जग्गा भए पनि मन्दिर निर्माणका लागि दुई कठ्ठा बिक्री वापतको रकम र स्थानीय केही दाताको सहयोगमा मन्दिर निर्माण कार्य सम्पन्न गरिएको स्थानीय शेरबहादुर साउँदले बताउनुभयो ।
मन्दिरमा स्थानीय समाजसेवी दुर्गा प्रसाद बस्यालले मूर्ति खरिद र पुजाआजा आफ्नै खर्चमा गर्नुभएको छ ।
मन्दिरमा त्यसबाहेक ३४ हजार बराबरको घण्टी र घण्टा शेरबहादुर साउँदले, जिल्ला समन्वय समिति का सदस्य सरिता भुलले १० हजार नगद सहयोग, सिद्धार्थ साउँदले १० हजार र कर्णप्रताप राणाले २ हजार इट्टा सहयोग गर्नुभएको बताइएको छ ।
मन्दिरमा ३ दिन लगाएर प्राण प्रतिस्ष्ठा गरिएको हो । प्राण प्रतिष्ठा गर्न ३, ५ या ७ दिन लगाएर गर्नुपर्ने शास्त्रमा रहेकाले ३ दिनमा विधिवत पूजा गरिएको आचार्य कौशिक ढुंगानाले जानकारी दिनुभयो ।
मन्दिर निर्माण भएपछि त्यहाँका नागरिकलाई पुजाआजाका लागि सहज भएको छ । गाउँमा मन्दिर नभएकाले त्यहाँका भक्तालु पूजा गर्न दौलतपुर, सत्ती या टीकापुर आउनुपर्ने वाध्यता थियो । गाउँमै मन्दिर बनेपछि स्थानीय खुशी भएका छन् ।