सम्पादकीय
शान्ति सुरक्षाका कारण टीकापुर ८ श्रीलंकाको जग्गा नापी भएको छैन । जग्गाधनी पूर्जा हातमा छ तर उपभोग अर्कैले गरिरहेका छन् । जग्गाको लालपूर्जा हातमा भएको व्यक्तिले नापी नभएकै कारण जग्गा उपभोग गर्न नपाउनु भनेको यो भन्दा लाजमर्दाे कुरा के होला ? राज्यले सुरक्षा नदिएकै कारण नापीले जग्गा नाप्न सकेन । नापीले नागरिकको जग्गा नापेर सत्य तथ्य भन्नुको साटो आलटाल गर्नु सरासर गलत हो । नेपालमा दिनप्रतिदिन मानवता हराउँदै गएको छ । धन सम्पत्ती र सत्ताका लागि जे पनि गर्न तयार हुने प्रबृत्ति नेपाली समाजमा बढ्दै गएको छ । ठूला नेता मानव तस्करीमा लागेका छन् भने अरुका के कुरा गर्नु ? बाढीले बिस्थापित भएका परिवार कणाली नदीले धार परिवर्तन गरेपछि जग्गा उपभोग गर्न खोज्दै छन् तर जनप्रतिनीधि र केही व्यक्तिहरु अर्काको जग्गामा रजाई गर्दै छन् । जग्गा नाप जाच गरेपछि सत्यतथ्य कुरा आउँछ भन्ने सबैलाई थाहा छ तै पनि जग्गा नापी गर्न दिइएको छैन । नदीले धार परिवर्तन गरेपछि नम्बरी जग्गा प्रष्ट देखिन्छ । जिल्ला प्रशासन कार्यालयका प्रमुखले सुरक्षा निकायलाई जग्गा नापजाँच काम सम्पन्न नहुँदासम्म सुरक्षा व्यबस्था मिलाउन आदेश दिएका छन् तर यो आदेश कार्यान्वयन भएको छैन । प्रशासन लाई निरिह देखाउन सक्ने क्षमता जनप्रतिनीधिले प्रदर्शन गरेका छन् । राज्य ठीक र गलत भन्न सक्ने अवस्थामा छैन । बलियाले जे गरेपनि हुन्छ भन्ने मानसिकता पलाउँदै गएको छ । यसरी राज्यका निकाय प्रति जनताको बिश्वास घट्नु भनेको आपसमा द्वन्द्व बढाउनु हो । जग्गा नापी गर्ने र नगर्ने बिषयमा यतिखेर त्यहा बिबाद बढाइएको छ । बिबाद बढाउनुको एउटै कारण हो जग्गा नापी नहोस् । जग्गा नापी भएपछि अर्काको जग्गा खान पाइदैन भन्ने बुझेका व्यक्तिहरु कै कारण समस्या बढेको हो । जग्गाको लालपूर्जा हातमा लिएर सरकारी निकाय धाइरहेका छन् तर सरकारी निकाय निरही भएको देखाउँछन् । तसर्थ सरकारी निकायले यथासिघ्र टीकापुर ८ श्रीलंकामा जग्गा नापी गर्न पहल गर्न जरुरी छ । जनताले नापीलाई बुझाउने शुल्क समेत बुझाई सकेका छन् । यसमा राजनीतिक दलहरुले पनि चासो बढाउन जरुरी छ । कमजोर तप्काले न्याय पाउदैन भन्ने सन्देश जान दिनु हुँदैन । यसमा सबै सचेत हुन जरुरी छ ।