सम्पादकीय
टीकापुरमा ट्राफिक प्रहरीको मनपरी गर्ने प्रचलन बढ्दै गएको छ । ट्राफिक प्रहरीको भूमिका यातायात सुरक्षाका लागि ठिक भएपनि यिनीहरुले गर्ने व्यबहार बिलकुलै गलत छ । राज्य सिस्टममा छैन अनी ट्राफिक प्रहरीलाई जरिवानाको अधिकार दिएर नागरिकलाई लुट्ने काम मात्र भइरहेको छ । टीकापुरमा यस पटक होलाीको दिन आम नागरिकले पाउनु दुख पाए । जो बाठा थिए ति ट्राफिक प्रहरीको नजरमा परेनन् । सर्बसाधारणलाई कागजात र तीन जना चढेको निहु देखाएर दुख दिने काम भयो । मदिरा सेवन नगरेको मोटरसाइकल चालकलाई मदिरा सेवन गरेको भन्दै दिनभरी प्रहरी कार्यालयमा रोक्ने काम भएको छ । राम्रो काम गर्नका लागि अर्काे नराम्रो काम गर्नै पनि नेपाली संस्कारको कहिले अन्त होला ? टीकापुरमा कतिपय ट्राफिक प्रहरी पैसा कमाउनका लागि आउछन् । नागरिकको सेवा भन्दा जरिवाना असुलेर कमिसन खाने दाउमा लागेको पाइन्छ । सुरक्षित यात्राका लागि भन्दा कमाउनका लागि ट्राफिक प्रहरीले व्यबहार देखाउन थालेका छन् । कानूनको छिद्रता खोज्दै नागरिकलाई शोषण गर्ने प्रणाली कतिञ्जेल चल्ने हो ? ट्राफिक प्रहरीले भनसुनका आधारमा काम गर्छन् । सरकारी निकाय र राज्यले केही नगर्नुपर्ने अनी नागरिकले कानूनको धारमा हिँड्नुपर्ने बाध्यता छ । राज्यले सडक सुधार देखि लाईसेन्स र गाडी नविकरणमा सहजता नबनाउने अनी नागरिकलाई कर ठोकेर लुट्नेहरुबाट सचेत हुन जरुरी छ । राज्यले जसरी पनि जनताको खल्तीबाट पैसा झार्ने र राज्य कोषमा जम्मा गरेर मोज गर्ने पद्धती अन्त हुन जरुरी छ । टीकापुरमा पछिल्लो समय टूाफिक नियम पालना गराउनेका नाममा भइरहेको अराजकता रोक्न जरुरी छ । टीकापुरमा जे गरेपनि हुन्छ भन्ने मानसिकता बोकेर काम गर्ने प्रबृत्ति रोक्न जरुरी छ । टीकापुरमा ट्राफिक प्रहरीले मासिक पैसा असुल्छन् भन्ने सबैलाई थाहा छ तर आम नागरिक जसको पहुँच छैन त्यसलाई जरिवाना गर्ने र दुख दिने गरेका छन् । तसर्थ यस क्षेत्रका नागरिक अगुवाले जनतासंग सरोकार राख्ने बिषयमा गम्भिर हुन जरुरी छ । ट्राफिक प्रहरी जनता भन्दा नितान्त आफ्नो स्वार्थका लागि लागको कारण ट्राफिक प्रहरीले आफ्नो व्यबहार सुधार्न जरुरी छ ।