सम्पदकीय
समाजमा आर्थिक प्रलोभन समस्याको रुपमा रहेको छ । काम गरेर खाने वातावरण छैन त्यसैले सजिलै पैसा कमाउने ध्याउन्नमा लागेको पाइन्छ । टीकापुरमा ढुकटीले आर्थिक अराजकता बढाएको छ । अनुसाशनमा रहेर ढुकुटी चलाएको भए समस्या हुने थिएन । ढुकुटीको जति बद्नाम गरेपनि बिना व्याज आपसमा मिलेर पैसा खेलाउन पाइन्थ्यो । सदस्यहरु आपसमा मिलेर पालैपालो जम्मा भएको रकम प्रयोग गर्नु राम्रो भएपनि लाखौं रुपैयाको कारोवार गर्न खोज्दा ढुकटी बद्नाम भयो । सामान्यतया गर्ज टार्न खेल्नुपर्नेमा करोडौ रकमको कारोबार गर्दा राम्रा मान्छे नराम्रोसंग ठगिएका छन् । एक हजार नहुनेले लाखमा खेल्न खोजेकै कारण टीकापुर लगायत देशका बिभिन्न ठाउँमा ढुकटी बद्नाम भयो । ढुकटीको पैसा मात्र होइन बैङ्कबाट लिएको ऋण पनि सदुपयोग भएन भने डुव्ने निश्चित हो । उसो त बैङ्कले पनि चर्काे व्याज असुल्ने गरेको छ । बिभिन्न सेवा शुल्क असुल्ने र बर्षेनी नविकरणका नाममा आम नागरिक ठगिदै गएका छन् । आम नागरिक ठगिनु नेपालमा सामान्य भएको छ । यस्तैमा अहिले टीकापुरमा ग्लोबल ओरियन्सले रोजगार दिनेका नाममा ठगि गर्दै आएको पाइएको छ । पत्रकार एकिन्द्र तिमिलसेनाले यो संस्थाका बारेमा करिब तीन महिना अध्ययन गरेपछि प्रहरी र प्रशासनको आँखा खुलेको छ । शुरुका दिनमा प्रहरी र प्रशासन यो सस्थाले ठगि गरिरहेको बारे पत्याउन तयार थिएनन् । टीकापुरको प्रहरीले यस अघि थाहा पाएपनि नथाहा पाएको जस्तो गर्नाले अझ बढी संख्यामा नागरिक ठगिएका हुन् ।नागरिक ठगिदा प्रशासनले चाल पाउँदैन । चाल पाएपनि चुपचाप बस्ने गरेका थिए । भर्खरै सरुवा भएर आउनु भएका टीकापुरका प्रहरी प्रमुखले ग्लोबल ओरियन्सका बारेमा सकृयता देखाउदा ८ जना कर्मचारी पक्राउ परेका छन् । यसरी प्रहरीले देखाएको सकृयताले मूर्त रुप लिन्छ भन्ने आम पीडितलाई लागेको छ । दुर्भाग्य हो नेपालमा आर्थिक अराजकता बढ्दै गएको छ तर कडा अनुसाशन कायम गर्ने सवालमा छिद्रलाई प्रयोग गर्दै ठगहरु बच्न सफल हुने गरेका छन् । तसर्थ चाडै आर्थिक कमाउने संस्थाका बारेमा सचेत हुनुपर्छ । दिनरात मेहनत गरेर दुई छाक खान गाहे छ भने सजिलै मासिक १८ हजार देखि ५० हजार कसरी कमाउन सकिन्छ भनेर गहिरिएर सोच्न जरुरी छ ।