ठगीको प्रमाण खोज्दै प्रहरी

टीकापुर, १० चैत/एक हजार जति युवालाई प्रलोभनमा पारी करोडौं रुपियाँ असूली गरेको ग्लोबल ओरियन्सको टीकापुरस्थित कार्यालयमा विहीबार प्रहरीले छापा मारेको छ । ग्लोबल ओरियन्सले ठगेको भन्दै पीडितहरु ले उजुरी दिएपछि प्रहरीले आठ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । मुद्दा चलिरहेको अवस्थामा थप प्रमाण खोज्न प्रहरी ग्लोबलको कार्यालयमा छापा मारेको हो । ग्लोबलको कार्यालय भने आइतबारदेखि नै बन्द छ ।
प्रहरीले ताला खोलेर हेर्दा एउटा ल्यापटप, एउटा कम्प्यूटर, विभिन्न तह अनुसारको पैसा तिरेको फारामहरु फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिनु भएको छ ।
जागिरको प्रलोभन देखाएर पहिलो श्रेणीका लागि १५ हजार, दोस्रो श्रेणीका लागि ४० हजार र तेस्रो श्रेणीका लागि एक लाख २० हजार असुलेको ग्लोबलले कतिजनालाई ठगेको छ भन्ने यकिन भएको छैन तर यसका टीकापुर प्रमुख साजन चौधरीले केही दिन अघि दिएको जानकारी अनुसार आठ सयदेखि एक हजार जति युवा यसमा पैसा तिरेर सामेल भएका छन् ।
प्रहरी निरीक्षक खडकाले पीडितहरुलाई आफूसंग भएका प्रमाणहरु ल्याएर अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्नु भएकोे छ । प्रहरी निरीक्षक खडकाले ग्लोबलले अन्य ठाउँमा मा भएका अफिसबाट यस्तै भेरहेको भए सचेत रहन आग्रह गर्नुभएको छ ।
सञ्चालकहरुले ग्लोबल अहिलेको लागि मात्रै नभई तीन पुस्तासम्म का लागि हो भन्दै लोभ्याउने र बेरोजगारलाई रोजगार बनाउने भएकाले हरेकले दुई जनालाई फसाएर सिस्टम चलाउन भन्दै रातदिन होस्टेलमा दवाव दिने गरेको सुर्खेतकी एक बालिकाले बताउनुभयो ।
अछामका पपेन्द्र क्षेत्रीले आफ्नो पैसा ठग्नुका साथै नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रहरु पनि फिर्ता नदिएकाले झन चिन्ता बढेको बताउनु भएको छ । प्रहरीको सक्रीयताले पीडितहरुमा पैसा र कागजात फिर्ता पाउने आशा जागेको बताउछन् ।