डाक्टर रावलद्वारा सडक शिलान्यास

टीकापुर , ३ साउन/सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावलले सोमवार एक कार्यक्रमका बीच सडक शिलान्यास गर्नुभएको हो ।
सैपाल स्कुल देखि हवाई मैदान हुँदै टंक देबकोटाको घरसम्म करिब १६ सय मिटर सडकको डाक्टर रावलले शिलान्यास गर्नुभएको हो । यहि आर्थिक बर्षमा सक्ने गरी भ्याट सहित ३ करोड आठ लाखमा निर्माण हुने सडक शिलान्यास गर्दै डाक्टर रावलले एक पालिका देखि अर्को पालिका , एक प्रदेश देखि अर्को प्रदेश जोड्ने सडक निर्माण गर्ने योजना ल्याएपनि सफल हुन सकेन् भन्नुभयो । ‘‘मेरो प्रयास सफल भएन , बहुमतमा थिएनौं , पालिका र प्रदेश जोड्ने सडक निर्माणमा ध्यान दिन जरुरी छ , ’’ मन्त्री रावलले भन्नुभयो ।

उहाले निर्माण हुन लागेको सडक हवाई मैदान पुग्न र वार्ड नम्बर २ लाई जोड्न सजिलो सजिलो हुने बताउनुभयो । ‘‘चार बर्षसम्म नसके पनि यस आर्थिक बर्षमा श्रावण महिना भित्र बजेटको अख्तियार पुग्ने गरी काम गर्छौ ,’’ डाक्टर रावलले भन्नु भयो ,‘‘ यस क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न जरुरी छ ।’’ उहाँले सनकट्टी घाटको पुल निर्माण समयमै गर्न आफुले सक्दो प्रयास गर्ने बताउनुभयो ।
वार्ड नम्बर १ का वडाध्यक्ष मोहन बिकले ढल सहितको सडक निर्माण हुदै यो गौरबको आयोजना हो भन्नुभयो । उहाँले प्रदेश सरकारले स्थानीय तहका लागि ठूला योजना छनौट गर्नुपर्ने भन्दै साना योजना स्थानीय तहले गर्न सक्छन् भन्नु भयो । ‘‘यस आर्थिक बर्षमा सडकका लागि टीकापुरमा साढे तीन करोड रुपैया बजेट परेको छ तर साना साना योजना बनाइएको छ,’’ वडाध्यक्ष बिकले भन्नुभयो ,‘‘सकिन्छ भने यसलाई सच्याएर एउटा ठूलो योजना बनाउन जरुरी छ ।’’ कार्यक्रममा भौतिक पूर्बाधार मन्त्रालयका सिनियर डिभिजन प्रमुख जगत प्रशाद जोशीले सडक को दुबै तर्फ आरसिसि ढलान भएको नाली भएको बताउनुभयो । ‘‘२०८० साल असार १५ गते निर्माण सम्पन्न गर्ने र समय थप नगर्ने गरी सम्झौता भएको छ ,’’ जोशीले भन्नुभयो , ‘‘ काम समयमै सकिन्छ भन्ने बिश्वास लिएका छौ ।’’ भ्याट बाहेक ३ करोड ९८ लाख रुपैयामा टेण्डर खोलिएकोमा निर्माण कम्पनीले २ करोड ६६ लाख रुपैयामा सखार गरेको छ ।
टीकापुर स्थित एनएस राजन जेभीले उक्त निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीले ८ महिनामा काम सक्ने बताएको छ ।