ड्रोन संचालन बारे तालिम ,क्षति कम गर्न सहयोग पुग्छः मन्त्री रावल

टीकापुर, ५ असोज/विपद्को पूर्वतयारी र प्रतिकार्यमा छिटो र सहज कार्यका लागि मानवरहित हवाई उपकरण (ड्रोन) को प्रयोग गर्न विपद् व्यवस्थापनमा खटिने निकायहरु तालिम लिन लागेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सोमबारदेखि टीकापुरमा तीन दिनको तालिम शुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावलले सुदूरपश्चिम बाढी, पहिरो, भूकम्पको ठूलो जोखिममा रहेकाले विपद्को सामना गर्न, विपद्पछिको अवस्था तत्काल बुझ्न ड्रोनको प्रयोग आवश्यक भैसकेकाले त्यसमा खटिने निकायहरुको क्षमता वृद्धि गर्न लागेको बताउनुभयो ।


‘कैलालीको दक्षिणी क्षेत्र तीन दिनदेखि जलमग्न हुँदा अवस्था थाह पाउन सकिएन ड्रोनको प्रयोग भैदिए उद्धार, राहतका काम पनि सजिलो हुने थियो’ मन्त्री रावलले भन्नुभयो, ‘मानव जान नसक्ने ठाउँमा ड्रोनको प्रयोग गरी सूचना लिएर मानवीय क्षति कम गर्न, राहात उद्दारका काम गर्न सकिन्छ ।’ उहाँले पहिरोको जोखिममा रहेको पहाडी क्षेत्रमा पनि ड्रोनको प्रयोगले सहज हुने बताउनुभयो ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले विपद्का साथै सीमा क्षेत्रमा भैसकेका गतिविधिहरु नियाल्न र नगरको शान्ति सुरक्षा कायम गर्न पनि ड्रोनको प्रयोग गरिनु पर्ने र त्यसका लागि स्थानीय सरकार पनि नेपाल प्रहरीलाई साधन स्रोत थप्न तयार भएको बताउनुभयो ।
सयुक्त राष्ट्रसंघको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख बैजन्ती गिरी सिंहले विपद्को उद्दार गर्न सरकारका विभिन्न निकाय परिचालन हुँदा ढिलो हुने र उद्दारकर्मी नै खतरामा पर्ने गरेकाले नेपालमा २०७२ को भूकम्पपछि बाढी र पहिरोमा पनि ड्रोनको प्रयोग आवश्यक भएकोले यूएनडीपीको शहरी विपद् व्यवस्थापन तथा भुकम्पीय पूर्व तयारी योजनाले यसमा सहयोग गरेको बताउनु भयो ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणका सूचना प्रविधि विज्ञ अरुण पौडेलले नेपालमा एक किलोमिटर परसम्मको अवस्था थाह पाउन ड्रोनको प्रयोग भैंरहेको र कार्गो ड्रोनहरु १० किलोमिटर परसम्मको कामका लागि प्रयोग भैरहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशी ले नेपालमा बसाईसराई, विकास र जलवायू परिवर्तनका कारण विपद् बढिरहेको बताउदै उद्दारकर्मीको सुरक्षाका लागि पनि ड्रोन आवश्यक भैसकेको बताउनुभयो ।


तीन दिनसम्म चल्ने तालिममा कञ्चनपुर, डडेलधुरा, बझाङ्का जिल्ला विपद् व्यवसथपान समिति का प्रतिनिधिहरु, नेपाली सेनाको देवीदत्त गुल्म, नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरीको बैद्यनाथ बाहिनीका प्रहरी अधिकृतहरु, रेडक्रसकर्मीहरु सहभागी छन् । यसैगरी कैलालीका टीकापुर, भजनी, गोदावरी, नगरपालिका, कैलारी, जानकी गाउँपालिका, धनगढी उपमहा नगरपालिका, कञ्चनपुरको पुनर्वास र भिमदत्त नगरपालिका, डडेलधुराको अमरगढी नगरपालिका र बझाङ् को जयपृथ्वी नगर पालिकाकाका स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रतिनिधि सहभागी हुनुहुन्छ ।
तालिममा ड्रोनबाट सूचना सङ्कलन गर्न यसको प्राविधिक पक्ष, कानूनी पक्ष लगायतको सिकाई हुने मन्त्रालय का अधिकृत सुरेश उखेडाले जानकारी दिनु भयो ।