त्रासको राजनीति

सम्पादकीय
मंसिर ४ गते प्रदेश र संघको निर्बाचन हुने भएपछि माथिल्लो तहका नेताहरुमा त्रास उत्पन्न भएको छ । गठबन्धन बिना जित्न सक्छु भन्नेहरु धेरै कम छन् । शिर्ष नेताहरुलाई यहि हालतमा जित्न गाहे छ । जनताले बिश्वास गरेका नेताहरु यतिखेर जनतासंग डराएका छन् । जनतालाई धोका दिएर राजनीति गर्दै आएका नेताहरु यतिखेर जनतामाझ जाने हैसियत गुमाएको महशुस गरेका छन् तर छलछामको राजनीति गरेर पद हत्याउने उपायमा भने लागेको पाइन्छ । जनताले निर्बिकल्प देखेका नेताहरु जनता माझ जान डराउनु भनेको सोच्ने बिषय हो । प्रजातन्त्र भने त्यतिले पुगेन गणतन्त्र भने तर गणतन्त्रमा यति बिध्न् बिकृति देखियो कि जनता प्रदेश सरकारको काम छैन भनेर खुलेर बोल्न थाले । साच्चिकै नेताहरु इमान्दार भएको भए जनमत संग्रहमा जाने आँट देखाउनुपर्ने थियो । राजालाई फालेर आफु राजा भएका छन् । राजा झँै संबिधान माथि आफुलाई राखेका छन् । कानून भन्दा माथि भएकै कारण जे गरेपनि कोही बोल्दैन । यिनीहरु बिरुद्ध संबैधानिक अंगले समेत मुख खोल्न सक्दैनन् । जे चाहन्छन् अदालत र अन्य निकायलाई दबाबमा राखेर काम गर्न बाध्य पार्छन् । हिजो राजाले पनि यि काम भन्दा के फरक गरेका छन् ? हिजो राजाको निरंकुसताको कुरा गर्नेहरु आज एउटा नारीले आफु बलत्कारमा परे र बलत्कारबाट जन्मेको बच्चाको डिएनए परिक्षण गरिदिन कानूनको सहारा लिन खोज्छिन् तर सहारा पाउँदिनन् । यो भन्दा लाजमर्दाे कुरा के होला ? मनपरीको पनि हद हुन्छ । न्यायमा चरम व्यतिथी पलाएको छ यसको एउटै कारण हो नेताहरुको हुकुमी शैली । हुकुमी शैलीका कारण जनताले न्याय पाउने अवस्था छैन । तसर्थ नेताहरुको यस्तो अराजकता रोक्न जनताले देखाएको चासोलाई सबैले मलजल गर्न जरुरी छ । भ्रष्ट नेताहरुलाई मसिंरमा हुने निर्बाचन मार्फत लखेट्न जरुरी छ ।