दुग्ध पदार्थको मूल्य प्रति उत्पादक , संकलक र उपभोक्ताको बिरोध

टीकापुर, २६ माघ/डेरी व्यबसायीले टीकापुरमा दुग्ध पदार्थको मुल्य मनोमानी तवरले बढाएपछि दुग्ध उत्पादक, संकलक र उपभोक्ताले बिरोध जनाएका छन् । फागुन १ गते देखि लागु हुने गरी डेरी व्बयसायीले मनोमानी तवरले बढाएको भन्दै बिज्ञप्ती मार्फत बिरोध जनाएका हुन् ।
उनीहरुले बढाईको मुल्य र डेरी व्यबसायीको रबैया प्रति स्थानीय सरकारले चासो राख्नुपर्ने माग गरेका छन् । उत्पादक , संकलक र उपभोक्तालाई ठग्ने गरी गरिएको मुल्य निर्धारणको बैधानिक आधार पनि नभएको उनीहरुको भनाई थियो । उपभोक्ता हित संरक्षण मञ्च टीकापुर, दुध उत्पादक र संकलकहरु ले तत्काल स्थानिय सरकारको रोहबरमा सर्वपक्षिय बैठकबाट दुधको मुल्य निर्धारण गर्नु गर्ने माग समेत गरेका छन् ।


मञ्चका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले दुध उत्पादक किसानलाई अवहेलना, उपभोक्ता प्रति अन्याय र व्यवसायीक अन्याय गरेर टीकापुरका डेरी व्यवसायीले एकलौटी रुपमा मुल्य बढाएको आफ्नो ध्यानकर्षण भएकाले किसानलाई मर्का नपर्ने गरि मुल्य निर्धारण गर्न आग्रह गर्नु भएको छ ।
टीकापुर बजारमा २०७६ भदौको अन्तिम साता टीकापुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता र व्यवसायी सहितको बैठकले दुधको प्रति किलो किसानबाट ५४ रुपैयामा खरिद गरेर ६५ रुपैयामा उपभोक्तालाई बेच्ने गरि मुल्य तोकिएको भए पनि डेरी व्यवसायीले ८० रुपैयामा बेच्ने गरेका छन् । यसले उपभोक्ता र दुध उत्पादक किसान मर्कामा परेका छन् । स्थानिय सरकार निरिह बन्दा डेरी व्यवासायीको सिण्डीकेटले दुध उत्पादक किसानहरु मर्कामा परिरहेको किसान शिव थापाले बताउनु भयो । ‘‘डेरी व्यवसायीको एकल बजारले मुल्य निर्धारण हुदा किसानहरु सस्तोमा दुध बेच्न बाध्य भएका छन् । ’’ थापाले भन्नुभयो ।
दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ र कालो बजार तथा केहि अन्य सामाजिक अपराध तथा सजाए ऐन २०३२ अनुसार किसान बाट खरिद गरेको दुग्ध पदार्थ डेरी व्यवसायीले २० प्रतिशत सम्म नाफा राखेर बेच्न सक्छन् । तर डेरी व्यवासायीले अहिले आफुलाई केन्द्रमा राखेर नाफा मुलक व्यवसाय गरि रहेकोले स्थानिय तहबाट मुल्य निर्धार गरि कार्यान्वयन नहुदा दुध उत्पादक किसान मर्कामा परेको दुध उत्पादक किसान दुर्गा जैशीले बताउनुभयो ।


दुध उत्पादक किसानलाई उत्पादनमा समस्या र घाटा रहेको अवस्थामा डेरी व्यवसायीले गर्दा अहिले थप समस्यामा परेको दुध संकलक किसान कर्ण विकले बताउनुभयो । उहाँले उत्पादन भएको दुध बजार सम्म पु¥याई उपभोक्तालाई दिदा सम्म किसान मात्र नभई उपभोक्ता समेत ठगीने भएकाले स्थानिय तहले दुग्ध पदार्थ संकलनको व्यवस्था गर्न आग्रह गर्नु भयो । उहाँले स्थानिय सरकारले संकलन केन्द्र स्थापना गरेर उचित मुल्य निर्धारण गरे किसान र उपभोक्तालाई सहजता हुने बताउनु भयो ।

डेरी व्यबसायीले २६ वा सो भन्दा माथि लेक्टो भएको दुध ६० रुपैयामा खरिद गर्ने र ७५ रुपैयामा बिक्रि गर्ने निर्णय गरेका छन् । यसै गरी क्रमशः २५ लेक्टो र २४ लेक्टोको दुध क्रमशः ५९ र ५८ रुपैयाँमा खरिद गर्ने र २४ लेक्टो भन्दा कमको दुध खरिद नगर्ने निर्णय गरिएको छ । महि प्रति लिटर ५० रुपैयामा बिक्रि गर्ने निर्णय भएको छ । पनिर प्रति केजी ६सय ५० रुपैयाँ , घ्यूँ एक हजार ५० रुपैयाँ र नौनी ९ सय ५० रुपैयामा बिक्रि गर्ने निर्णय डेरी व्यबसायीले गरेका छन् । स्किम गरेको दुध ६० रुपैयाँ लिटर बिक्रि गर्ने बताइएको छ ।
कानून भएपनि व्यबसायीले सिण्डिकेट निर्माण गरी मनोमानी मुल्य निर्धारण गर्ने परम्पराले उत्पादक र उपभोक्ता ठगिदै आएको टीकापुर स्थित सम्बाद सूमहका सदस्य निर्मला कडायतले बताउनु भयो । ‘‘निगरानी गर्ने निकाय चुपचाप बसेपछि व्यबसायीले मनपरी मुल्य लिने गरेका छन् ।’’ कडायतले भन्नुभयो ।