टीकापुर, १६ बैशाख/नेपाली कांग्रेसका सांसद इश्वरी न्यौपानेले बर्दिया र कैलाली जोड्ने दौलतपुर घाटमा पुल निर्माणका लागि माग गर्नुभएको छ ।
सांसद न्यौपानेले भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वाला संग दौलतपुरमा पुल आवश्यक भएकाले आउँदो आर्थिक बर्षमा पुल निर्माणको योजना राखिदिन आग्रह गर्नुभएको हो । माटो परिक्षण भएर पुल निर्माणको चरणमा रहेका बेला दौलपुरको पुल हुलाकी सडकमा लगिएको सांसद न्यौपानेले जानकारी गराउँनुभएको थियो ।
दौलतपुरमा पुल नहुँदा बर्दिया र टीकापुर जोड्न कठिन भएको न्यौपानेले मन्त्रीलाई जानकारी गराउँनुभएको थियो । ‘‘दौलतपुरमा पुल निर्माण आवश्यक छ , टीकापुर र बर्दियाका जनताको भावना बुझन जरुरी छ ,’’ न्यौपानेले भन्नुभयो,‘‘आएको विकास अरु ठाउँ लगिदा जनताले ठगिएको महशुस गरेका छन् ।’’ उहाँले योजना पर्ने गरी काम गर्न मन्त्रीलाई आग्रह गर्दै नागरिकका वास्तविक समस्या पहिचान गरेर विकास गर्न जरुरी छ भन्नुभयो ।
दौलतपुरमा पुल निर्माण हुने हो भने टीकापुर पार्कमा आउन सहज हुने छ भने बर्दियाबासी र कैलालीबासीको जनजीवन सहज हुने छ ।
यसै गरी सांसद न्यौपानेले सहरी विकास मन्त्री सीता गुरुङसंग टीकापुरको स्मार्ट सिटी कार्यक्रमलाई निरन्तरता दिन माग गर्नुभएको छ ।
स्मार्ट सिटी अन्तर्गत ब्लक ‘ए’ मा काम भएपनि त्यसपछिका कार्यक्रम अघि नबढेको मन्त्रीलाई जानकारी गराउँनुभएको थियो । यस बाहेक बीरेन्द्र बिद्या मन्दिरमा होस्टेल निर्माण , भजनीमा तटबन्ध लगायतका माग न्यौपाने ले राख्नुभएको छ ।
नयाँ आर्थिक बर्षका लागि योजना छनौट र बजेट बारे तयारी भइरहेका बेला कतिपय सांसद विकासका सवालमा चुपचाप छन् ।
सांसदले व्यक्तिगत रुपमा विकासका कुरा उठाउँनुको साटो सबै सांसद एक ठाउँमा उभिएर योजना माग गरेको भए टीकापुरको हित हुने थियो ।