सम्पादकीय
भारत सरकारले धान र चामल निर्यातमा २० प्रतिशत शुल्क लगाएपछि नेपालीलाई तनाव भएको छ । ठूला व्यापारीले भारतबाट धान र चामल ल्याउने गरेका छन् भने नेपालमा उत्पादन भएको धानले मुल्य नपाएको अवस्था छ । नेपाली उत्पादनमा भर पर्नुभन्दा उद्योगिले भारतको चामल र कनिकामा भर मान्दै आएका छन् । आफ्नो उत्पादन प्रयोग गर्ने नीति नबनाएका उद्योगि यतिखेर भारतले गरेको निर्णय पछि तनावमा छन् । भारतबाट संस्तोमा चामल र धान ल्याउन पल्केका उद्योगिहरु समस्यामा पर्ने भएका छन् । नेपाली किसानले मुल्य नपाउने भएपछि धान उत्पादन कम गर्न थालेका छन् । बर्षभरीको श्रम र लगानीले मुल्य नपाउने भएपछि धान भन्दा अरु खेतीमा किसानले ध्यान दिन थालेका छन् । पछिल्ला बर्षमा धान खेति घट्दै गएको छ । एकातिर कृषि प्रधान देश भन्ने अर्काे तर्फ भारतबाट चामल आयात गरेर खानु पर्ने अवस्थाका नेपालीको छ । आफ्नो देशको अर्थतन्त्र कसरी जोगाउने भन्ने बारेमा सरकारसंग केही पनि नीति छैन । हचुवाका भरमा गरिने निर्णयले देशको अर्थतन्त्र बलियो हुने कुरै भएन । अघिल्लो आर्थिक बर्षमा नेपालले भरतबाट ४७ अर्बको धान ,चामल र कनिका आयात गरेको पाइन्छ । त्यस मध्य २९ अर्बको चामल मात्र आएको छ । कनिका मदिरा उत्पादन र दाना बनाउन प्रयोग गरिन्छ । कनिका डेढ अर्बको आयात भएको छ । कृषि प्रधान देशले आफुलाई चाहिने चामल उत्पादन गर्ने क्षमताको विकास गरेको छैन । कृषि क्षेत्रको विकास गर्नका लागि कृषि मन्त्रालय छ तर कृषि क्षेत्रको विकास हुन सकेको छैन । कृषि उत्पादन बढाउने बारेमा ठोस नीति नभएपछि किसानले कृषि पेशा प्रति खासै चासो राखेको देखिदैन । जेनतेन जग्गा खाली नराख्ने गरी कृषि क्षेत्रमा काम गरेको देखिन्छ यसले उत्पादनमा बृद्धि हुने कुरै भएन । तसर्थ भारतको भरमा पर्ने होइन धान उत्पादनमा आफ्नै नीति बनाएर कृषि क्षेत्रलाई बलियो बनाउन जरुरी छ । सरकारी निकाय धान उत्पादनमा गम्भिर हुन जरुरी छ । उत्पादन बढ्यो कि मुल्य नपाएर किसान चिन्तित हुनुपर्ने अवस्था छ । नेपालमा उत्पादन भएको धान खरिद गर्न आनाकानी गर्छाै अनी भारतबाट ल्याउन सहज मान्छौ यो नीतिले कृषि क्षेत्र बलियो हुने कुरै भएन ।