नगरपालिकाले जग्गा छुट्याउनुपर्छ

सम्पादकीय
टीकापुर नगरपालिकाले अनावश्यक कर्मचारी भर्ना गरेर बजेट सक्नु भन्दा नगर भित्रको जग्गा कुन अवस्थामा छन् भनेर छुट्याउन जरुरी छ । नगरका हरेक वडामा रहेका सार्वजनिक जग्गा पहिचान गरेर रेखांकन गर्न जरुरी छ । नगर भित्र सार्वजनिक जग्गा धेरै छन् तर व्यक्तिले उपभोग गरेका छन् । सार्वजनिक जग्गा खोज्न जनप्रतिनीधिले चासो देखाएका छैनन् । अघिल्लो कार्यकालमा पनि जनप्रतिनीधिले बेवास्ता गरे अहिलेका जनप्रतिनीधिहरुले पनि चासो दिएको पाइदैन । सस्तो लोकपृयताका लागि काम गर्ने प्रचलन बसेको छ । एकछिन स्याबासी त पाइएला तर कालान्तरमा गाली खाने निश्चित हो । जनप्रतिनीधि भएपछि जोखिम उठाउनु र मेहनत गर्नु कर्तव्य हो । जग्गा खोज्न मेहनत गर्नु      पर्छ । प्राबिधिक कर्मचारी भर्ना गरेर जग्गा छुट्याउने काम गर्ने हो भने बिभिन्न संघ संस्थालाई आवश्यक पर्ने जग्गा निस्कन्छ । वार्ड नम्बर ४ मा दुई घरलाई जिस्काउने काम भयो तर नगरमा जग्गा खोज्ने काम भएन । काम गर्दा योजनाबद्ध हुनुपर्छ । बिना योजना काम गर्दा अतिक्रमण हटाउने योजना तुहिएको छ । अतिक्रमण हटाउनु सकारात्मक पक्ष हो तर त्यसका लागि जनप्रतिनीधिले नागरिकको मन जित्न आवश्यक छ । काम केही नगर्ने अनी जथाभावी गर्ने हो भने हरेक काम उस्तै त होलान् भन्दै आलोचना हुन्छ । शुरुका दिनमा जनताले सहना गरेकै हुन् । तर पछिल्लो समय टीकापुर नगरपालिकाका जनप्रतिनीधिले खासै काम देखाएका छैनन् । तसर्थ टीकापुर नगरपालिकाका जनप्रतिनीधि समयमै सचेत हुन जरुरी छ ।