नयां सहर र स्मार्ट सिटीको काम निरन्तर हुन्छः उपप्रधानमन्त्री सिंह

टीकापुर,१० फागुन/उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नयाँ सहर स्मार्ट सिटिको काम निरन्तर हुने बताउनु भएको छ । वीरेन्द्र विद्या मन्दिर टीकापुरको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै उपप्रधान मन्त्री सिंहले यस्तो बताउनु भएको हो ।
राजनीतिक अस्थिरताले नयाँ सहर र स्मार्ट सिटीको काम रोकिएको हो उपप्रधानमन्त्री सिंहले भन्नुभयो, क्रमिक रुपमा काम हुन्छ रोकिएको काम सुचारु हुन्छन । टीकापुर नेपाल सरकारको स्मार्ट सिटी कार्यक्रममा समावेश भई पहिलो पटक आएको बजेटले ब्लक ए मा शहरी सडक, पेटी र नालीको काम भए पनि त्यसपछिका बजेट कार्यक्रममा निरन्तरता पाउन सकेको छैन् ।
उपप्रधानमन्त्री सिंहले विद्यालय खुलेपछि सहर विकास भएको हुनाले टीकापुरलाई शैक्षिक केन्द्रकै रुपमा विकास गर्दा देश लाई योगदान दिन सकिने बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश का मुख्यमन्त्री कमलबहादुर शाहले पनि टीकापुर सहरको पहिचान नै शिक्षा भएकाले सुदूरपश्चिम प्रदेश सरकारले विज्ञान तथा प्रविधि विश्वविद्यालय टीकापुरमा स्थापना गर्न लागेको र यसमा सबैको साथ दिनुपर्ने बताउनुभयो ।


टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले वीरेन्द्र विद्या मन्दिरको विकासमा नगरपालिकाको सहयोग रहेको र विधान परिमार्जन गरी कक्षा १२ सम्मको शिक्षको जिम्मा नगरपालिकाले लिने बताउनु भयो । विद्यालयका प्राचार्य फणेन्द्रराज रेग्मीले तत्कालिन टीकापुर विकास समितिले स्थापना गरेको विद्यालय समिति विघटन भएपछि सङ्घीय वा स्थानीय सरकारमा जिम्मेवारी जानुपर्नेमा अलपत्र पारिदा गुठीमा दर्ता हुनुपरेको गुनासो गर्नु भएको थियो । प्राचार्य रेग्मीले पूर्ण रुपमा सरकारले लगानी गरेको, बुढानिलकण्ठ विद्यालयले परीक्षा लिएर पठाएका सामुदायिक विद्यालयका विद्यार्थीहरु शिक्षा मन्त्रालयको खर्चमा कक्षा पाँचदेखि पढिरहेका तर एसइइपछि सरकारीले दिने छात्रवृत्री लगायतका सुविधाबाट बञ्चित भएको बताउनुभयो ।
पूर्व अध्यक्ष मिनबहादुर रावल ले २०३१ सालमा भवन बनाउन स्वर्गीय खडगबहादुर सिहले गरेको योगदानको स्मरण गर्नु भयो । उहाँले शिक्षण संस्थाका लागि छुट्टयाएको जग्गामा सुकुम्बासी राखेर राजनीतिक दलहरुले भोटबैक बनाएको गुनासो गर्नुभयो ।
पूर्व विद्यार्थी एवम् नेपाली सेनाका पूर्व रथी सुरत रावलले स्वर्ण महोत्सवका लागि २० लाख रकम संकलन गरेको र भविष्यमा शैक्षिक सुधारका लागि योगदान गर्ने बताउनुभयो ।
मुख्यमन्त्रीसहित १८८ जना लाई सम्मान
वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सवका अवसरमा विभिन्न क्षेत्रका १८८ जनालाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा पूर्व विद्यार्थीहरू सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमन्त्री तथा प्रतिनिधि सभासदस्य अब्दुल खान,प्रतिनिधि सभा सदस्य रूपा चौधरी,सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी, सुदूरपश्चिम प्रदेश सभाका सदस्य कैलाश चौधरी, प्रतिनिधि सभाका पूर्व सदस्य गंगाबहादुर कुँवर, प्रतिनिधि सभाका पूर्व सदस्य रेशमलाल चौधरी रहनु भएको छ ।
पूर्व विद्यार्थी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाह र विवेक ओझालाई पनि सम्मान गरिएको छ । विद्यालय स्थापना गर्ने तत्कालीन मन्त्री खडकबहादुर सिह, प्रधानाध्यापक रत्नप्रसाद सञ्ज्याल लगायत सात जनालाई मरणोपरान्त सम्मान गरिएको छ ।
यसै गरी विद्यालयका छ जना पूर्व अध्यक्षहरु, पूर्व प्राचार्यहरू बलबहादुर रावल, थोमस वर्गीस लगायत सात जनालाई सम्मान गरिएको छ । विद्यालय र क्याम्पस को परीक्षामा उत्कृष्ट भई नेपाल सरकारको उपसचिव र सो भन्दा माथिको तहमा रहेका पूर्व विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ । यस्ता विद्यार्थीहरु वि। सं। २०३४ सालदेखि हरेक वर्ष एसएलसीरएसइइमा उत्कृष्ट विवद्यार्थी ११७ जना,प्लस टु तर्फ उत्कृष्ट २७ जना र स्नातक क्याम्पसका उत्कृष्ट १५ जना छन् । उहाँहरु प्रशासन, इन्जिनियरिङ्ग, सैनिक, प्रहरी, प्राध्यापन पेशामा रहनु भएको छ । प्ले ग्रुपदेखि स्नात्तकोत्तर तह सम्म तीन हजार ८०० विद्यार्थी अध्ययन गर्ने वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव तीन दिनसम्म चल्ने स्वर्ण महोत्सव समारोहका अध्यक्ष नवराज रावलले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री सिंहले विद्यालय मा नवनिर्मित स्वर्ण जयन्ति महोत्सव स्तम्भ र पुस्तकालयको उद्घाटन गर्नुभयो ।