टीकापुर,२९ बैशाख/अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा टीकापुर अस्पतालमा कार्यक्रम भएको छ । प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन् १९७४ को जनावरीमा विश्व स्वास्थ्य संगठन ले निर्णय गरेअनुसार फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात् मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विश्वभर मनाउन थालिएको हो । फ्लोरेन्स नाइटिङ्गेललाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ ।
नेपाल नर्सिङ परिषद् (वि.सं. २०५३) मा स्थापना भएसँगै प्रत्येक वर्ष १२ मेका दिन यो दिवस मनाउने गरिएको छ । प्रत्येक वर्ष विभिन्न नाराका साथ मनाइने नर्सिङ दिवसको यो वर्षको नारा ‘हाम्रा नर्स, हाम्रो भविष्य’ रहेको छ ।
दिवसका अवसरमा टीकापुर अस्पतालमा आयोजित कार्यक्रम मा टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारी ले अस्पतालमा नर्सहरुले दिएको सेवामा भएका कमीकमजोरी औँल्याउँदै सुधारको प्रयासमा अस्पताल लागिरहेको बताउनु भयो ।
अध्यक्ष सोडारीले अस्पतालले हरेक महिना उत्कृष्ट काम गर्ने एक जना नर्सलाई प्ुरस्कृत गर्ने भएकाले इमानदारीका साथ काम गर्न र हरेक इकाइबाट कार्य सम्पादन रिपोर्ट बुझाउन आग्रह गर्नुभयो ।
अस्पतालका मेसु डाक्टर रेमकुमार राइले बच्चालाई जस्तै बिरामीलाई माया गरेर सेवा दिने काम नर्सहरुबाट हुनु पर्ने भएकाले आफ्नै आफन्त, दाइभाइ सम्झेर सेवा गर्न आग्रह गर्नुभयो ।
उहाँले नर्स सेवामूलक पेशा भएकाले आफू जोगिएर सके जति सेवा दिन सुझाव दिनुभयो । ‘‘तपाइहरुको सेवा अतुलनीय छ’’, उहाँले भन्नुभयो, ‘‘अझैँ जिम्मेवार भएर काम गर्नुस्, आफू पनि जोगिएर काम गर्नुहोला ।’’
बरिष्ठ नर्सिङ अधिकृत कल्पना खड्काले फ्लोरेन्स नाइटिङ्गेलले देखाएको बाटो नेपाली नर्सहरुले आत्मसाथ गर्दै सेवामा खटिएका बताउँदै नर्सबारे आउने गुनासाहरु काम गर्ने प्रेरणाका रुपमा लिन आग्रह गर्नुभयो । ‘‘एउटै नर्सले धेरै बिरामीलाई रेखदेख र सेवा दिनु परिरहेको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘टीकापुर अस्पतालमा अझ बिरामीको चाप बढी छ । यस्तो बेला कहिलेकाही गुनासा पछि आउँछन् । तर नर्सहरु दिनरात नभनि सेवामा खटेका छन् ।’’
सिनियर अनमी तारा खरेलले नर्सले घर परिवार भन्दा पहिलो प्राथमिकता बिरामीलाई दिनुपर्ने बताउनुभयो । ‘‘बिरामीको उपचारमा सानो लापरवाही गर्न मिल्दैन, उनीहरुको उपचारसँगै राम्रो परामर्श पनि आवश्यक हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘आफ्ना सबै समस्या भुलेर बिरामीलाई ध्यानमा राख्नुपर्छ ।’’
स्टाफ नर्स तारा तिमिल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रम बरिष्ठ नर्सिङ अधिकृत कल्पना खड्काको अध्यक्षतामा भएको थियो ।