नागरिकका समस्या भन्दा सत्तामा ध्यान

सम्पादकीय
नेपालको राजनीति नागरिकका दुःख सुखमा भन्दा सत्ताको केन्द्रमा घुम्न थालेपछि मुलुक अस्थिर हुन थालेको छ । गणतन्त्रको कुरा गरेर नथाक्ने नेताहरु जनताको जनजीविकाको बारेमा केही चासो दिंदैनन् । नागरिकले काम गरेर खाने वातावरण छैन । व्यबसाय गर्नुभन्दा बैङ्कमा पैसा राखेर व्याज खान सजिलो छ भन्ने मानसिकता बस्न थालेको छ । व्यबसाय गर्नेहरु अधिकांस घिटिघिटीको अवस्थामा छन् । पार्टीले तय गरेका राजनीतिक र सामाजिक एजेण्डा सरकारमा गएर पुरा गर्ने प्रयास गर्नुको साटो कमिसनमा लागेका छन् । बिना घुस काम हुँदैन । नागरिकलाई करका नाममा जसरी पनि लुट्ने योजना सरकारमा बस्नेहरुले ल्याउने गरेका छन् । सत्ताको चरम दुरुपयोग गर्ने वानी नेताहरुमा बसेको छ । नेताहरुले गणतन्त्रको रक्षा गर्न सक्दैनन् भनेर नागरिकले आवाज उठाउन थालेका छन् । नागरिकले गणतन्त्रका बिरुद्ध आवाज उठाउँदा नेताहरुले बुझ्नुपर्ने हो । नागरिकले आक्रोस प्रकट गर्दा समेत नेताहरुमा सुधारको संकेत देखिदैनन् । राजनीति देश र जनताका लागि गर्ने हो । जनतालाई धोकामा राखेर राजनीति गर्नु अपराध हो । अपराधको राजनीति धेरै दिन टिक्दैन । त्यसैले जनताको भावना बुझेर नागरिक नेताहरुले काम गर्न जरुरी छ । सत्तामा बसेका नेताहरुले देशको उत्पादनमा ध्यान दिने हो भने धेरै समस्या समाधान हुन्छ । समस्या समाधान ध्यान नदिने बानीले मुलुकको आर्थिक अवस्थामा कमजोर भएको छ भने नागरिक दिनप्रतिदिन गरिब हुँदैछन् । रेमिट्यान्स आउने परिवारलाई केही राहत भएपनि आम नागरिकलाई समस्या छ । सरकार मोज मस्ति गर्न बस्ने होइन देश र जनताको हितमा सोच्न जरुरी छ ।