नागरिक उन्मुक्ति पार्टीमा समस्या

सम्पादकीय
स्थानीय निर्बाचनमा ४ वटा पालिका प्रमुख र ३ वटा उपप्रमुख सहित करिब २ दर्जन वडाध्यक्ष जितेको नागरिक उन्मुक्ति पार्टीमा यतिखेर महत्वकांक्षा बढ्न थालेपछि पार्टीमा समस्या देखा पर्न थालेको छ । वडा स्तरका नेता केन्द्रिय सदस्य भएपछि आपसमा म त भन्दा के कम भन्न थालिसकेका छन् । एकथरी नेताहरु पार्टीमा प्रबेश गराउनमा व्यस्त छन् भने अर्काे थरी टिकट पाइने हो कि होइन भन्ने चिन्तामा छन् । भर्खरै जन्मेको पार्टीमा देखिएको अविश्वास कतिञ्जेल टिक्छ भन्ने हो ? साना सहरी खाने पानी संस्था तथा उपभोक्ता समितिको निर्बाचनमा समेत पार्टी दुई चिरामा बिभाजनमा देखियो । पार्टी प्रष्ट दुई चीरामा देखिएपछि समस्या छ भनेर प्रष्ट बुझ्न सकिन्छ । खाने पानीकै निर्बाचनका लागि आपसमा मरिहत्ते गर्नेहरु ठूलो विकास योजना र अवसरका लागि के गर्लान भन्ने हो । केन्द्रिय सदस्य बिच अहिलै कुरा नमिल्ने हो भने कतिञ्जेल आपसमा मिलेर बस्न सक्छन् ? पार्टीमा आम नागरिक सांसद रेशम चौधरीको मुद्धालाई भावनात्मक रुपमा लिएर प्रबेश गर्दै छन् भने नेताहरु यतिखेर निर्बाचन जित्न सकिन्छ त्यसैले तर मार्ने मौका यहि हो भनेर डिल्लीबजारमा धाउनेहरु पनि छन् । ठूला पार्टीलाई स्थानीय निर्बाचनमा मात दिएर जनमत पाएको पार्टीमा तीन महिना नबित्दै अबिश्वास जन्मन थालेको छ । स्थानीय निर्बाचनमा माननीय रेशम चौधरीको सेण्टिमेण्टले आम नागरिकले ढकियामा भोट हालेका हुन् । भोट हाल्नेहरुले उम्मेदवार चिनेनन् तर चुनाव चिन्ह ढकियालाई मन मस्तिष्कमा राखेका थिए । थोरै समयमा ठूलो सफलता पाएपनि निर्बाचन भएको केही दिनमै आपसमा अबिश्वास जन्मन थालेको छ । राजनीति भनेपछि लोभ पालिहाल्नुपर्ने पेशा भयो । सबैलाई जनप्रतिनीधि हुन मन छ । त्यसैले जनता सचेत भएर प्रदेश र संघको निर्बाचनमा नेता छान्न लाग्नुपर्छ । जथाभावी जनप्रतिनीधि छान्ने प्रचलनले विकास हुँदैन । सबैले बुझ्न जरुरी छ ।