सम्पादकीय
मुलुक यो अवस्थामा पुग्नुको कारण राजनीतिक नेतृत्व नै हो । राजनीति देश र जनताका लागि भन्दा नेता र तिनका परिवारका लागि मात्र भयो । यतिखेर मुलुकमा तमाम समस्या छन् । यि सबै समस्या एकै पटक आएका होइनन् । बर्षाै देखि समस्यालाई ढाकछोप गर्दै आएका राजनीतिक दलले दिर्घकालिन सोच राखेको पाइएन । केवल सत्ता स्वार्थमा लागेकै कारण अहिले मुलुक संकटमा परेको हो । मुलुक संकटमा परेपछि जनताले नेतृत्वलाई तथानाम गाली गर्न थालेका छन् । सामाजिक सञ्जालमा गालीको बर्षा छ । नेतृत्वलाई जनताले बिश्वास गरेको कुरा बिर्सनु हुँदैन । मुलुक अस्तव्यस्त भएपछि यतिखेर नेताहरुको कुरा सुन्नै चाहन्नन जनता । जनताको दैनिकी कष्टकर छ । उपचार सहज पाउने अवस्था छैन । शिक्षामा चरम व्यापार फष्टाएको छ । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएको छ तर भ्रष्टाचार रोक्ने सवालमा सत्तामा बसेका नेताहरुले रोक्ने काम गरेको पाइदैन । सुधारका कुरा कहिलै होइन । सधै अस्तव्यस्त भएर मुलुक अघि बढ्ने कुरै भएन । एकदिन मुलुक ठप्प हुने स्थिति आउने निश्चित छ । विकास बजेट व्यापक दुरुपयोग भइरहेको छ । ऋण लिएर विकासका योजना बनाउने अनी त्यही योजनाको बजेट कुम्लाउने भएपछि देशको अवस्था कसरी सुधार हुन्छ ? युवाहरु बिदेश पलायन भएको कुरा गर्छाै तर क्षमता भएका इमान्दार कर्मचारी को हुर्मत लिने गरिएको छ । राम्रो काम गर्न लागेका बेला सत्ताको आडमा अबरोध खडा गर्ने गरिएको छ । हरेक क्षमतावान मान्छे राज्यबाट प्रताडित भइरहेको अवस्था छ । गलतलाई प्रोत्साहन गर्ने काम भइरहेको छ । सत्ताको दम्भमा नेताहरुले काम गरिरहेका छन् । जनताको भावना बुझ्ने प्रयास भएको पाइदैन । जनताले राहत पाउने सवालमा राजनीतिक दल गम्भिर छैनन् । स्थानीय तह देखि संघ सरकारमा बसेका जनप्रतिनीधिहरुले विकासको योजना छनौट गर्दा स्वार्थलाई केन्द्रमा राखेर गर्ने गरेका छन् । विकासका योजना छनौट गर्दा उपलव्धिका बारेमा समिक्षा कहिले हुँदैन । कमिसन खानका लागि ठूला योजना बनाइन्छन् अनी यो भन्दा दुर्भाग्य अरु के होला ? तसर्थ राजनीतिक दलका नेताहरुले गम्भिर भएर सोच्न जरुरी छ । देश र जनताका सवालमा कठोर भएर निर्णय लिन जरुरी छ । टालटुले नीतिले अब काम गर्दैन ।