नेताहरु अराजक हुँदै

सम्पादकीय
नेपालमा मुख्य राजनीतिक दलका नेताहरु अराजक हुँदै गएका छन् । देश र जनता भन्दा पनि आफ्नो स्वार्थमा केन्द्रित हुूदा एक अर्कालाई गाली गर्ने र आफु ठिक हुँ भन्ने अभिव्यक्ति दिन थालेका छन् । नेताहरु अराजक हुँदै मुलुकको प्रशासनिक निकाय समेत अस्तव्यस्त भएका छन् । प्रशासनिक निकाय नेताहरुकै कारण मजोर अवस्थामा छन् भने विकासे अड्डाहरु लूला भएका छन् । विकासको कुनै मापदण्ड नबनाएर नेताहरुले खल्तीबाट योजना हाल्दा देशको आर्थिक अवस्था कमजोर मात्र भएन । जनताले तिरेको कर र लिएको ऋण दुरुपयोग भइरहेको छ । आफुहरुले जे चाह्यो त्यहि हुन्छ भन्ने सन्देश दिदै आएका राजनीतिक दलका नेताहरु जथाभावी बोल्ने क्रम रोकिनुको साटो अझै बढ्दै गएको पाइन्छ । नेताहरुलाई अदालतको आदेशले पनि छुदैन । अदालतले गरेको निर्णयलाई टेर पुच्छर नलगाएझै गरी अभिव्यक्ति दिन थालेका छन् । अदालतको निर्णयलाई सामान्य रुपमा लिएर राजनीतिक दलका नेताहरुले जुन व्यबहार देखाइरहेका छन् यसले आम नागरिकमा अदालत प्रति आस्था घटाउने काम भएको छ । न्याय मर्न थालेको हो कि भन्ने आभाष हुन थालेको छ । हरेक नागरिक सचेत हुन जरुरी छ । पार्टीको आडमा जसरी नेताहरु बोलिरहेका छन् यसले दम्भ पलाएको प्रष्ट हुन्छ । सबै सचेत होऔं । नेताहरुले ज बोल्यो त्यहि मान्ने प्रबृत्ति मौलाउन थालेपछि यतिखेर समग्र मुलुक अस्तव्यस्त भएको छ । मुलुकको बारेमा भन्दा अराजकता देखाएर देश र जनता प्रति धोका दिने प्रयास भइरहेको छ ।