सम्पादकीय
हरेक पाटीमा आपसमा कित्ता काटगर्दै जाने संस्कार बढेपछि आपसमा अबिश्वास बढ्दै गएको छ । आपसमा अबिश्वास बढ्दै जाँदा दलका नेताहरुलाई पनि तनाब हुन थालेको छ । नेतृत्वले गलत मान्छे बोक्नुपर्ने बाध्यता सृजना गराइएको छ । पार्टीमा इमान्दार नेता र कार्यकर्ताको कुरा नसुन्ने प्रचलन बढ्दै जाँदा व्यापारी मानसिकता मान्छे हाबी हुँदै गएको अवस्था छ । मुलुकमा यतिखेर सबै ठिकठाक छैन । जनताको भावना अनुसार नेताहरुले देश चलाउन सकेनन् भन्ने आम गुनासो छ तर नेताहरु जनताको गुनासो पत्याउन तयार छैनन् । नेताहरु जनतासंग भन्नेबेला सबैठाक छ भन्छन् तर जनताको दैनिकी कठिन हुँदै गएको छ । यस्तो अवस्थामा आम नागरिकमा आक्रोसको माहोल छ । प्रजातन्त्र नै खतरामा छ । प्रजातन्त्रको विकल्प छैन भने पनि जनतामा उकुसमुकस छ । यस्तो अवस्थामा प्रजातन्त्रको रक्षा अरु पार्टीबाट सम्भब छैन । नेपालको राजनीतिमा नेपाली कांग्रेसको भूमिका अहम छ । देशका लागि कांग्रेस चाहिएको छ तर नेताहरुको आचरण दिनप्रतिदिन बिग्रदै गएको छ । पार्टीमा राम्रा मान्छेलाई साथ लिएर हिड्नुभन्दा व्यापारीक मानसिकता भएका अवसरवादीलाई लिएर हिँड्दा लाभ हुन्छ भन्ने मानसिकता पलाएको छ । यही मानसिकताले गर्दा नेताहरु जिल्ला आउँदा एकता बनाउनुभन्दा चीरा पारेर जाने गरेका छन् । आफ्नो गुटको खोजीमा लाग्दा कांग्रेसमा द्वन्द बढ्दै गएको छ । केन्द्रिय नेताहरु जिल्लामा आएपछि सकृय कार्यकर्ताको इतिहास नै थाहा हुँदैन । जसले इतिहास बुझेको हुँदैन अनी त्यसले कार्यकर्ताको मुल्याक्न कसरी गर्छ ? राम्रो नराम्रो नछुट्याएर आफ्नो झोला बोक्ने कार्यकर्ता बनाउनेका नाममा आपसमा द्वन्द बढ्दै गएको छ । नेपाली कांग्रेस हुलहुज्जडको पार्टी बनाउने प्रयाय भएको छ । मास पार्टीका नाममा भइरहेको बेथिति नेतृत्वले तुरुन्त रोक्नुपर्छ । भ्रष्टहरुलाई साथमा लिने हो भने कांग्रेस सकिदै जान्छ ।