नेताहरु सुध्रने छांट छैन

सम्पादकीय
नेपालका ठूला तीन दल र मधेशवादी दलका नेताहरु सुध्रने अवस्था छैन । भ्रष्टाचारका बिरुद्ध सडकमा नारा लागेका छन् । भ्रष्टाचार र व्यतिथीले देश आक्रान्त छ तर नेताहरुलाई चासो छैन । वाइडबडी काण्ड, कोरोनाकालको औषधी खरिद, भुटानी सरणार्थी प्रकरण, पशुपति जलहरी काण्ड लगायत अन्य कैयन काण्ड भएका छन् । ठूला भ्रष्टाचारका बारेमा तीन ठूला दलका नेता र मधेशवादी दलका नेताहरुले मुख खोल्दैनन् । राप्रपा र स्वतन्त्र पार्टीका सांसदले भ्रष्टाचार र व्यतिथीका बिरुद्ध आवाज उठाउँदा नागरिकले केही राहत महशसु गरेका छन् । भ्रष्टाचार भइरहने अनी सत्तामा बस्नेहरु रमाइरहने राजनीति जनताले कतिञ्जेल मान्ने ? जनतालाई भजाएर आफु र आफ्ना आसेपासेको भरण पोषण गर्ने राजनीति संस्कार अन्त गर्न जरुरी छ । यो संस्कार सजिलै गरी अन्त हुने देखिदैन । नागरिक सचेत हुन जरुरी छ । नागरिकले कुरा नबुझ्ने हो र भ्रष्ट नेताहरुको भनाईलाई पत्याउँदै जाने हो भने देश भड्खालोमा जाने निश्चित हो । देश रहने कि नरहने अवस्थामा पुग्दै छ तै पनि नेताहरु गम्भिर छैनन् । देशको अर्थतन्त्र तहस नहस भएको छ तर जनतालाई अर्थतन्त्र ठिक छ भनेर ठग्ने काम भइरहेको छ । यसरी चरम व्यतिथीलाई हटाउन पहल कसरी गर्ने भन्ने बारेमा बहस छलफल हुनुको साटो भएका भ्रष्टाचारका काण्ड कसरी लुकाउने भन्नेमा नेताहरु लागेका छन् । हरेक दलका अधिकांस नेताहरु भ्रष्ट छन् । जनता बिक्री गर्ने पेशामा लाग्ने नेताहरु जनताको भावनालाई कसरी कदर गर्न सक्छन् ? सत्ताको आडमा इमान्दार कार्यकर्ताको बोली बन्द गर्ने संस्कार छ । गलत भयो भनेर कसैले आवाज उठायो भने उसलाई अवसरबाट बञ्चित गर्ने गरिएको छ । राजनीतिमा देखिएको यो बिक्रिती रोक्न जनता सडक मा आउन जरुरी छ । जनता सडकमा नआउने हो भने मुलुक पार लाग्दैन ।