टीकापुर, १८ जेठ/कोइकाका कार्यक्रम व्यवस्थापक तथा आरसीआइका नेपाल प्रतिनिधि ६७ बर्षिय पार्क क्वाङ हो विगत ३० वर्षदेखि नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि काम गरिरहनु भएको छ । विगतमा हरेक वर्ष नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने क्वाङ पछिल्ला केही वर्षयता नियमित नेपालको स्वास्थ्य सुधारका लागि काम गरिरहनु भएको हो । क्वाङले पछिल्ला ५ वर्षदेखि टीकापुर अस्पतालको विकासका लागि काम गरिरहनु भएको छ । टीकापुर अस्पतालमा कोरियन सरकारको सहयोगमा सञ्चालित सामुदायिक स्वास्थ्य र शिक्षा सुदृढीकरणका लागि पहल परियोजनाले पूर्वाधार विकास, प्रविधि, जनशक्तिको दक्षता अभिवृद्धिमा सघाइरहेको छ ।
टीकापुरको स्वास्थ्य सुधारका लागि ब्यक्तिगत तर्फबाट पनि थुप्रै प्रयास गर्नुभएका पार्कले टीकापुरको स्वास्थ्य अवस्था देखेपछि कोरियन सरकारसमक्ष प्रस्ताव गरेर टीकापुरमा उक्त परियोजना भित्र्याउनु भएको हो ।
पार्क आफू कलेज पढ्दै गर्दा सन् १९९१ मा कोरियाको स्थानीय पत्रिकामा नेपालमा गएर सेवा गर्ने मानिस चाहिएको सूचना देखेपछि सेवा गर्ने भावना सहित पहिलो पटक नेपाल आउनुभएको उहाँको भनाइ छ । नेपालमा उहाँले दोलखामा बन्दै गरेको चरिकोट अस्पतलामा १ वर्ष व्यवस्थापनको काम गर्नुभयो । दोलखामा गौरीशंकर अस्पताल बनाइसके पछि उहाँ कोरिया फर्कनु भयो । कोरिया फर्केपछि त्यही काम गर्न थाल्नुभयो ।
कोरियामा विभिन्न देशका कामदारको स्वास्थ्य समस्या समाधान र उपचारमा सघाउनु भयो । ‘‘त्यतिबेला कोरियामा स्वास्थ्य बिमा लागू थिएन, विदेशी कामदारलाई उपचार निकै खर्चिलो हुन्थ्यो’’, उहाँले विगत सम्झदै भन्नुभयो, ‘‘त्यसैले अस्पतालमा गएर उपचार गर्न नसक्ने विदेशी कामदारको गाडीमै उपचार सेवा दिन्थ्यो । गाडीभित्रै एक्सरे, उपचार लगायतका सुविधा थिए । ठाउँ ठाउँमा गएर सेवा दिने काम गरेको थिए ।’’ पछि कोरियामा स्वास्थ्य बिमालागू भएपछि विदेशी कामदारलाई पनि उपचारमा सहजता भएको उहाँको भनाइ छ ।
कोरियाको आसान मेडिकल सेण्टरमा प्राध्यापकमा कार्यरत पार्क हरेक वर्ष स्वास्थ्य शिविर सञ्चालन गर्न नेपाल आउनु हुन्थ्यो । नेपालका मुङलीन, नुवाकोट, तिर्सुली, तातोपानी लगायतका ठाउँमा औषधिको सेवा सहित स्वास्थ्य शिविर चलाएको अनुभव सुनाउनुभयो । नेपालमा शिविर गर्नका लागि पनि स्थानीय पत्रिकामा सेवा गर्न चाहनेले जान पाउने सूचना अनुसार पक्रिया पूरा गरी आफ्नै खर्च र व्यवस्थापनमा नेपाल आएर सेवा गरेको उहाँ बताउनु हुन्छ । ‘‘सेवा गर्ने भावनाले नेपाल सम्म ल्यायो, नेपालको स्वास्थ्य सुधार गर्ने इच्छाशक्ति मनमा सधैँ रहेको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘यस्तै गर्दा जागिरबाट सेवानिवृत्त भएपछि केही समय अफ्रिकाको क्यामरुन एदियोफियामा कोइका बाट स्वयमसेवकका रुपमा काम गर्नुभयो । सन् २०१७ सम्म त्यहाँ सेवा गरेपछि सन् २०१८ मा गैर सरकारी संस्थाको स्वयम सेवक भएर नेपालमा ‘नेपाल कोरिया नगरपालिका मैत्री अस्पताल’ मा सेवा गर्न फेरि नेपाल आउनुभयो ।
कोरियामा क्यान्सर रेडियसन अंकलोजी कलेजमा प्राध्यापकको काम समेत गरेका पार्क त्यहाँको सीप नेपालमा सिकाउन थाल्नु भयो । कोरियामैत्री अस्पतालमा काम गर्ने क्रममा पत्रिकामा टीकापुर अस्पतालका अध्यक्षले विजुली बील बुझाउन गाह्रो भयो भनेको समाचार देखेपछि टीकापुरमा ध्यान तानिएको उहाँ अनुभव सुनाउनुहुन्छ ।
‘‘त्यसपछि म टीकापुर आए, टीकापुर अस्पतालमा कोइकाले त्यसअघि सघाएका मेशिन तथा सामान गोदाममा थन्किएको देखेँ, सामान प्रयोग नभएको देख्दा चलाउन नजानेर नचलाएको जानकारी पाएँ’’, उहाँले भन्नुभयो, ‘‘कोरिया फर्केर कोइकामा प्रस्ताव पेश गरे । प्रस्ताव स्वीकृत भएपछि पहिलो चरणमा सन् २०१९ बाट टीकापुर अस्पतालमा पहल परियोजना शुरु भयो । परियोजनाले सन् २०२१ सम्म धेरै काम ग¥यो ।’’
पहिलो चरणको काम सकेपछि यहाँ नगरौँला भन्ने पार्कको सोँच थियो । अस्पतालले त्यो बेला थप सहयोगको अपेक्षा गरेको थियो । कोरिया फर्केर १ वर्षपछि फेरि कोइकामा प्रस्ताव पेश गरे र सहयोग गरौँ भन्ने लागेर सन् २०२३ मा फेरि परियोजना लिएर नेपाल फर्कनुभयो । दुबै चरणमा एउटै संस्था, उनै मानिससँग काम गर्न पाउँदा सहज भएको उहाँको भनाइ छ । अब टीकापुर अस्पताल मा डेढ वर्ष बाँकी छ । यो समयमा अस्पतालका कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम दिएर दक्ष बनाउने गरी काम गरिरहेको उहाँ बताउनुहुन्छ ।
कोइकाले गतवर्ष टीकापुर अस्पतालका मेसु तथा हाड जोर्नी रोग विशेषज्ञ डाक्टर रेमकुमार राईलाई कोरिया पठाएर घुडाको पूर्ण प्रत्यारोपण तालिम दिलायो । जसले टीकापुरमा सेवा लिने बिरामीलाई थप राहत मिलेको छ । ‘‘अझ पनि थप तालिम दिने, आवश्यकताका आधारमा नेपाल भित्र वा कोरिया लगेर पनि अन्य लाई पनि तालिम दिनेछौँ’’, उहाँले भन्नुभयो, ‘‘अस्पतालमा स्वास्थ्य बिमा गर्न नसक्नेलाई पनि सघाइ रहेका छौँ ।’’
पार्कले कोरियन नागरिकको सहयोगमा टीकापुरको एकतानगर शिविरमा रहेको विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माण गरिदिनुभयो । साथै उहाँले अति विपन्न केही परिवारलाई ब्यक्तिगत तर्फबाट बाख्रा समेत बितरण गर्ने गर्नुभएको छ ।
पार्क ६७ वर्षको भएपनि मनमा सेवाभाव छ । आफूले जानेको ज्ञान, सीपधारणा बाड्न जहिले अघि सर्ने बानी छ । यसैले उहाँलाई खुशी दिन्छ ।
‘‘मैले जीवनमा सबै कुरा व्यवस्थापन गरेको छु । जीवनको ३० वर्ष आफूलाई दिए, पढार्इ लेखाइ र करिअर बनाए । ३० वर्षपछि ४० सम्म परिवारलाई दिए । ४० देखि ५० वर्ष सेवासँगै रोजगार र राष्टूका लागि काम गरे’’, उहाँ थप्नुहुन्छ, ‘‘६० वर्ष कटेपछि अरु देशलाई पनि सेवा गराँै भन्ने भावना छ । यसमा नेपाल रोजे, नेपालमा सेवा गर्न पाएको छु ।’’
प्राध्यापक पार्क क्वाङ हो लाई अस्पतालमा काम गरिरहँदा थप काम गर्ने इच्छा जागेको छ । उहाँलाई टीकापुरमा नर्सिङ वा पारामेडिकल कलेज अथवा तालिम केन्द्र सञ्चालन गर्न मन छ । त्यसका लागि पनि पहल गर्ने उहाँको भनाइ छ ।
‘‘यी इच्छाहरु पूरा गर्न स्वस्थ हुने प्रयास गरिरहेको छु । म स्वस्थ रहे भने टीकापुर क्षेत्रका लागि अझैँ केही गर्नेछु’’, उहाँले भन्नुभयो, ‘‘टीकापुरमा विकासको सम्भावना देख्छु । सबै मिलेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन सकिन्छ । सबैले निस्वार्थ भएर काम गरेमा आगामी दिनमा अस्पताल आफैँ बलियो बनाउन सकिन्छ ।’’
पार्कको अनुभवमा यहाँ रहँदा सबैको साथ मिलेको छ । मानिसले हरेक काम खुशीसाथ गर्ने हो । म खुशी बाड्नका लागि काम गर्छु । ‘‘म ३० वर्ष पहिले नेपाल आउँदा को मन र अहिलेको मन उस्तै छ’’, उहाँले थप्नुभयो, ‘‘यहाँको बसाइ भने गाह्रो छ । खानेकुरा, बसाइ, मौसम र भाषामा भने मलाई समस्या हुने गरेको छ । आफ्ना लागि चाहिने खानेकुरा सकेसम्म उतैबाट ल्याउने गरेको छु ।’’
पार्क कोरियामा प्यारो परिवार, सबै खाले सुविधा भएको भए पनि सेवाभावले विदेशमा बसिरहेको बताउनुहुन्छ । ‘‘जीवनको ६० प्रतिशत समय, उर्जा र कमाइ कोरियाका लागि गरेको र ४० प्रतिशत बिश्वका अन्य देश सहित नेपाललाई दिइरहेको छु’’, उहाँले भन्नुभयो, ‘‘नेपाल प्यारो छ । बाचुञ्जेल सकेको काम गर्नेछु ।’’