टीकापुर, १४ जेठ/नेपाल प्रेस युनियन लम्की शाखाको नव निर्वाचित पदाधिकारीको पदस्थापन तथा युनियनको ३२ औँ स्थापना दिवस मनाइएको छ ।
पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसीले पत्रकारलाई सज्जन बन्न आग्रह गर्नुभएको छ । केसीले पत्रकार सज्जनसँगै सचेत बन्न समेत आवश्यक रहेकोमा जोड दिनु भयो ।
नेपाली काँग्रेस क्षेत्र नं। १ कैलालीका क्षेत्रीय सभापति प्रकाश शाहले पत्रकारहरु व्यवसायिक बन्नुका साथै डिजिटल प्रविधिमा जोडिन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा प्रेस युनियन सुदूरपश्चिमका महासचिव हरिस भट्ट, कैलालीका सभापति श्रवण देउवा, पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराई लगायत ले बोल्नुभएको थियो ।
कार्यक्रममा निवर्तमान सभापति देवानन्द न्यौपानेले नव निर्वाचित अध्यक्ष परमानन्द पाण्डेलाई माइन्युट हस्तान्तरण गर्नुभएको थियो । माइन्युट बुझ्दै सभापति पाण्डेले आफूले नेपाली काँग्रेस र युनियनबीच समन्वय बढाउने, सम्बन्ध सुधार गर्ने र प्रशिक्षणका कार्यक्रम गर्ने बताउनुभयो ।
निर्वाचन समितिका संयोजक टेकबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन संस्थापक सभापति रंगप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।
शुक्रबार लम्कीमा भएको पाचौँ अधिबेशनले युनियनको सभापतिमा परमानन्द पाण्डे, उपाध्यक्षमा चन्द्रप्रसाद खनाल, समावेशी उपाध्यक्ष रतनलाल चौधरी, सचिवमा विरेन्द्र शाह, कोषाध्यक्ष धर्मेन्द्र विष्ट र सहसचिव महिलामा दिपशिखा न्यौपाने चयन गरेको थियो ।
त्यसैगरी सदस्यमा हिक्मतप्रसाद उपाध्याय, भरत भण्डारी, नविन कुमार देवकोटा, गणेशबहादुर क्षेत्री चयन हुनुभएको छ । जनजाती सदस्यमा सुधराम दहित, दलित सदस्यमा ज्योति सुनार, सदस्य महिलामा पवित्रा ढकाल चयन हुनुभएको थियो ।