सम्पादकीय
पछिल्लो समयमा नेताहरुको बिश्लेषण गर्ने हो भने नेताहरुमा मानवता हराउँदै गएको छ भने न्यायका बारेमा पनि नागरिक निरास हुँदै गएका छन् । नेपालमा दिनप्रतिदिन न्याय हराउँदै गएको छ । धन सम्पत्ती र सत्ताका लागि जे पनि गर्न तयार हुने प्रबृत्ति नेपाली समाजमा बढ्दै गएको छ । ठूला नेता मानव तस्करीमा लागेका छन् भने अरुका के कुरा गर्नु ? टीकापुर ८ श्रीलंकामा लालपूर्जा हातमा भएर पनि जग्गा उपभोग गर्न पाएका छैनन् । जग्गा नाप्न जिल्ला प्रशासन कार्यालयका प्रमुखले आदेश दिदा समेत टीकापुर स्थित नापी कार्यालयले जग्गा नाप्न मान्दैन । लालपूर्जा भएको जग्गा नाप्न नमान्ने आँट नापी कार्यालयलाई कहाँबाट आयो ? नागरिकको सम्पत्ती रक्षा गर्नु राज्यको कर्तव्य हो । बाढीले बिस्थापित भएका परिवार कणाली नदीले धार परिवर्तन गरेपछि जग्गा उपभोग गर्न खोज्दै छन् तर जनप्रतिनीधि र केही व्यक्तिहरु अर्काको जग्गामा रजाई गर्दै छन् । जग्गा नाप जाच गरेपछि सत्य तथ्य कुरा आउँछ भन्ने सबैलाई थाहा छ तै पनि जग्गा नापी गर्न दिइएको छैन । नदीले धार परिवर्तन गरेपछि नम्बरी जग्गा प्रष्ट देखिन्छ । नम्बरी जग्गा प्रष्ट देखिन्छ तर वडाध्यक्ष र केही स्थानीय जग्गा नापी गर्न अबरोध गर्छन् भने यो भन्दा लाजमर्दाे कुरा के होला ? जग्गा नापी गरेर समस्या समाधान गर्न पहल वडाध्यक्षले गरेको भए नागरिकलाई सहज हुने थियो । नागरिकका समस्याका बारेमा वेवास्ता गर्ने प्रबृत्ति मौलाउँदै गएको छ । तसर्थ सरकारी निकायले यथासिघ्र टीकापुर ८ श्रीलंकामा जग्गा नापी गर्न पहल गर्न जरुरी छ । जनताले नापीलाई बुझाउने शुल्क समेत बुझाई सकेका छन् । यसमा राजनीतिक दलहरुले पनि चासो बढाउन जरुरी छ । जिल्ला प्रशासन कार्यालयबाट आएको आदेश नटेर्ने हो भने कानून बलियाले कानून हातमा लिए केही फरक पर्दैन भन्ने सन्देश प्रष्ट भएको छ । कानून सबैका लागि बराबरी हुनुपर्छ ।