सम्पदकीय
नेपालको राजनीतिमा केवल पद र प्रतिष्ठाको कुरा मात्र आउन थालेको छ । जनप्रतिनीधि ५ बर्षका लागि हो भन्ने भावनाको विकास हुन सकेको छैन । धेरैको मनमा बाचुञ्जेल जनप्रतिनीधि हुन पाए हुन्थ्यो भन्ने मानसिकता पलाएको पाइन्छ । मुलुकको अवस्था नाजुक भइरहेको छ तर नेताहरु पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्नमा व्यस्त छन् । नागरिकका समस्या बारे बहस र छलफल हुँदैनन् । मुलुकले बेहोर्नु परेको कष्टका बारेमा छलफल हुँदैन । केवल बिदेशीलाई खुसी पारेर ऋण र अनुदान लिने प्रयास भएको पाइन्छ । बिदेशीको चाकडी गरेर ऋण र अनुदान लिने अनी त्यहि अनुदान र ऋणमा मोज गर्नेहरुबाट मुलुकले पार पाउँदैन । २० खर्ब २७ अर्ब सार्वजनिक ऋण पुगिसक्यो तर विकासको गति बढेको महशुस नागरिकले गर्न पाएका छैनन् । नागरिकले राहत महशुस गर्ने अवस्था छैन । ७५ प्रतिशत नागरिक सकसमा छन् अनी २५ प्रतिशत रमाउँदा मुलुकमा शान्ति कसरी कायम हुन्छ ? शान्तिका नाममा अर्बाै रुपैया खर्च भयो तर मुलुकले शान्ति पाउने अवस्था छैन । काटमारको राजनीतिले जनतामा त्रास सृजना गरेर जसरी सत्ता कव्जा गर्ने काम भयो त्यसले नागरिक तहमा निरासा उत्पन्न गराएको छ । नेताहरुले आज राम्रो हुन्छ भोली राम्रो हुन्छ भनेर जनतालाई ठग्ने काम मात्र गरेका छन् । रोजगारका अवसर छैनन् अनी काम गरेर खाने वातावरण पनि छैन । यस्तो अवस्थामा नेपालमा युवाहरु किन बस्छन् ? युवाहरुको पलायन रोक्ने कुरा नीति तथा कार्यक्रममा आउछ तर कार्यान्वय गर्ने बेला प्रगति सून्य हुन्छ । यसरी मुलुकको अवस्था नाजुक हुँदै गएको छ । तसर्थ नागरिक सचेत भएर राजनीतिक दलका नेताहरुलाई दबाब दिन जरुरी छ । गलत गर्नेहरुलाई जनताले सवक सिकाउन जरुरी छ ।