सम्पादकीय
नेपालमा पछिल्लो समय पदका लागि मात्र राजनीति गरिरहेको सन्देश गएको छ । देश जनता भन्दा पनि पदका लागि नेताहरुले राजनीति गर्दा आपसमा अबिश्वास बढ्दै गएको छ । कसरी सांसद र मन्त्री बन्ने सोच पाल्दा निष्ठा र इमान्दारिता मासिदै गएको छ । पदकै लागि राजनीति गर्दा हुल हुज्जडको राजनीति मौलाउँदै गएको हो । प्रजातन्त्र र गणतन्त्रका लागि लडेका नेताहरु केवल मन्त्री पदका लागि मरिहत्ते गरेको देख्दा यिनीहरु पदका लागि लागेका रहेछन् भन्ने प्रष्ट हुन्छ । प्रजातन्त्रका लागि जेल बसेका जेष्ठ नेताहरु हुन् या पछिल्लो पुस्ताका युवा नेताहरु हुन् सबैलाई सांसद र मन्त्री चाहिएको छ । सांसद र मन्त्रीले नपुगेर बिभिन्न पद सृजना गरेर पोस्ने काम भइरहेको छ । जेष्ठ नेताहरु आफु पछिका युवाहरुलाई काम गर भनेर भन्न सक्दैनन् । नेताहरु बाटो खुल्ला गर्ने पक्षमा छैनन् । मन्त्रीका लागि पार्टी समेत फोड्न तयार हुन्छन् । पूर्ब सहरी विकास मन्त्री रामकुमारी झाक्रीले मन्त्री पदबाट राजीनामा दिदा देखाएको चर्तिकलाले राजनीति प्रति घृणा जाग्न थालेको छ । रामकुमारी झाक्रीको चर्तिकलाले मन्त्री हुनका लागि जन्मेका हुन् कि भन्नुपर्ने अवस्था छ । मन्त्री भएपछि सबैको ध्यान कमाउनेमा हुन्छ । देश र जनताका लागि काम गर्न मन्त्री बन्नुपर्ने हो तर पछिल्लो समय धाक लगाउन र कमाउनका लागि मन्त्री बन्ने गरेका छन् । मन्त्री बनेपछि कर्मचारी सरुवा बढुवामा मात्र ध्यान हुन्छ । जे गरेपनि हुन्छ, जे बोलेपनि हुन्छ भन्ने गरी व्यबहार गरेको पाइन्छ । केवल सत्ता मोहका लागि राजनीति गरेका दरिद्रबाट देशको उद्धार हुने कुरै भएन । मुलुक आर्थिक संकटमा छ तर मन्त्री भएकाहरुलाई केही वास्ता छैन । यस्तो घिन लाग्दो राजनीतिबाट देश र जनताले पार पाउने कुरै भएन । रेमट्यिान्सको भरमा बाचेको अर्थतन्त्र उत्पादन मुखी नहुूदा कहिले देश टाट पल्टिने हो भन्ने त्रास छ । नागरिकका समस्यालाई मुख्य एजेण्डा बनाउनुपर्ने भएपनि नेताहरुले पदलाई मुख्य एजेण्डा बनाएका छन् । तसर्थ नागरिक सचेत हुन जरुरी छ ।