पद्म प्रकाशेश्वर मन्दिरमा एकतोला सुन दान

टीकापुर, २१ माघ/टीकापुर –७ स्थित पद्म प्रकाशेश्वर मन्दिरमा शनिबार काठमाण्डौ बुढानिल कण्ठ निवासी कृष्ण श्रेष्ठ दुवालले एक तोला सुन दान गर्नुभएको छ । श्रेष्ठले सुनको वेलपत्र बनाएर मन्दिरमा चढाउनु भएको
हो । श्रेष्ठकी आमा, श्रीमती सहित टीकापुर आएर रुद्री पूजा र लाखबत्तीको अनुष्ठान पछि मन्दिरमा सुनको वेलपत्र चढाएको मन्दिर व्यबस्थापन समितिका अध्यक्ष बिदुर कायस्थले जानकारी गराउनु भयो ।
कायस्थले भन्नुभयो,‘‘मन्दिरप्रतिको आस्था र विश्वास हो ।’’ दान गरेको सुनको वेलपत्र बिशेष पूजामा मात्र प्रयोग गरिने कायस्थ ले बताउनुभयो । अध्यक्ष कायस्थले मन्दिरमा दान गर्नेहरु क्रमशः बढ्दै जाने अवस्था देखिन्छ त्यसका लागि राज्यले समयमै मन्दिरमा सुरक्षाको व्यबस्था गर्न जरुरी छ भन्नुभयो ।
अघिल्लो वर्ष बच्चाको स्वास्थ्य का लागि यही मन्दिरमा आएर श्रेष्ठ परिवारले भाकल गर्नुभएको थियो । भाकल पूरा भएपछि भाकलअनुसार सुन दान गरेको श्रेष्ठले बताउनुभयो । ‘‘बच्चा जन्मनु अघि मन्दिरमा आएर स्वस्थ बच्चा जम्नियोस् भनी भाकल गरेका थियौँ’’, उहाँले भन्नुभयो, ‘‘पूरा भएपछि एक तोला सुन दान गरेका हौँ ।’’
पद्म प्रकाशेश्वर मन्दिरमा दर्शन गर्नका लागि भारतबाट विभिन्न मठका शंकराचार्य र भक्तजन आउन थालेका छन् । मन्दिरको प्रचार प्रसार नभए पनि मन्दिरमा आउने हरेक मठका आचार्यहरुले मन्दिरमा राखिएको शिबलिङ्ग बिशेष प्रकारको रहेको बताउने गरेका छन् । यस क्षेत्रमा आउने हरेक पार्टीका शिर्ष नेताहरु पदमप्रकाशेश्वर मन्दिरको दर्शन गरेर फर्कने गरेका छन् ।
कलात्मक शैली र आकर्षक पदमप्रकाशेश्वर मन्दिर पूर्वाधिमूख भएको नेपालकै दुर्लभ कालो प्रस्तरको शिवलिङ्ग रहेको बताइन्छ । कालो प्रस्तरको आकर्षक शिवलिङ्ग १८ इन्च लामो, गोलाई ५१ इन्च, पिथिकाको गोलाई १६५ इन्च, पिथिकाको उचाइ ३२ इन्च रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
विक्रम संवत् १९६५ माघ शुक्ल दशमीको अवसरमा राजा नरेन्द्रविक्रम सिंहकी कान्छी महारानी पद्यमावतीद्वारा यस मन्दिरको स्वरूप जीर्णोद्धार गरिएको भनिन्छ । सम्पदा सम्बन्धी केही पुस्तकमा महारानी पद्यकुमारीले पतिको सम्झना मा १९६१ साल तिर यस मन्दिरको निर्माण गरेको उल्लेख रहेको  बताइन्छ ।


यस शिवलिङ्गको ब्रम्हनाल भने उत्तर दिशातिर प्रवाहित रहेको छ । यसो गर्नुका कारण भगवान् परशुराम बिहानी पख जलाभिषेक गर्दा आफ्ना इष्ट देवता र कुलदेवताको एकैसाथ पूजा गर्ने अभिप्रायले अभिष्ट इच्छाले परशुरामद्वारा स्थापित भएको किम्बदन्ती रहेको छ ।
वि।स। १९६७ मा यस क्षेत्रमा नै पहिलो मन्दिर महोत्सव गरी महारानी पद्यमावतीद्वारा मन्दिरको संरक्षण गर्नका लागि सात सय बिगाहा जमिन गुठी स्वरूप राखी, ५० धार्नीको घण्ट र सुनको गजुर चढाउनु भएको भन्ने कुरा समेत उल्लेख रहेको छ । तर हाल मन्दिर परिसर दुईका १० धुरमा मात्र सीमित रहेको       छ । मन्दिर क्षेत्रफल बाहिर ६ का जग्गा दान स्वरूप प्राप्त भएकाले हाल भोग चलन गर्दै आइरहेको छ ।
२०६७ फागुन १ देखि २०६८ फागुन ८ गतेसम्म मन्दिर शतवार्षिकी मनाउँदा भारत उत्तराखण्डका पिठाधीश्वर जगतगुरु शङ्कराचार्य, माधव वाश्रमजी, महाराष्ट्र अन्तर्राष्ट्रिय व्यास आचार्य, स्वामी दिनदयाल महाराज, बालव्यास नारायण न्यौपानेहरूको सहभागी रहेको थियो । विक्रम संवत् २०६९ साउन १ गते नेपालका जगतगुरु बालसन्त मोहनशरण महाराजको हातबाट पहिलो बोलबम धार्मिक कार्यक्रम सुरुवात गरस् निरन्तरता दिँदै आइरहेको छ । २०६९ साउनमा यस मन्दिरमा भारत उत्तर काशीका श्रृषिमुनी लगायत निशानन्द महाराजबाट विशेष शिव पूजा समेत गरिएको थियो ।

यस मन्दिरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको दिन १०८ कन्या पूजा गर्दै आइरहेको छ । हिन्दु धर्मावलम्बीहरूको महानपर्व शिवरात्रि, विजया दशमी, चैते दशैं, अक्षय तृतीयाको दिन विशेष पूजा हुने गरेको यस मन्दिरका पुजारी          बताउँछन् । साथै स्थानीयवासी हिन्दुको विभिन्न पर्वहरूमा यस मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।
यस मन्दिरको संरक्षण समिति को पहलमा विभिन्न सङ्घसंस्था, पुरातत्व विभाग,गुठी संस्थान, समाज कल्याण परिषद्मा दर्ता गराई पुरातात्विक सम्पदा श्रेणीमा यस मन्दिरलाई राखिएको छ भनेर मन्दिर संरक्षण समितिका अध्यक्ष विदुर कायस्थ बताउनुहुन्छ ।
उहाँका अनुसार यस मन्दिरमा विभिन्न वर्षहरूमा विभिन्न गतिविधिहरू गरिएको र यस मन्दिरमा दीर्घकालीन योजनाहरू जस्तै, मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने, धार्मिक पर्यटनका लागि प्रर्वद्धन गर्ने काम भइरहेका           छन् ।