पहल परियोजनाको दोस्रो चरणको कार्यक्रम शुरु

टीकापुर, २७ चैत/टीकापुर अस्पतालमा सञ्चालित सामुदायिक स्वास्थ्य र शिक्षा सुदृढीकरणका लागि पहल परियोजनाको दोस्रो चरणको कार्यक्रम शुरु भएको छ ।
अस्पतालको विकास र बिरामीको सहज सेवाका लागि सघाउँदै आएको परियोजनाले अझैँ ३ वर्ष अस्पतालको आवश्यकतामा सघाउने भएको छ । कोइका सरकार, रोज क्लव इन्टरनेशलको सहयोग,सेवक नेपाल र टीकापुर अस्पतालको सहकार्यमा सञ्चालित परियोजनाले पहिलो चरणमा अस्पतालको मुहार फेर्न सहयोग पुगेको सरोकारवालाको भनाइ छ ।


कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले अस्पताल लाई व्यवस्थित ढंगले कसरी सञ्चालन गर्न सकिन्छ भनी सबैले चिन्तन गर्नुपर्ने बताउनु भयो ।
नगर उपप्रमुख खडकबहादुर शाहले अस्पतालको सेवा प्रवाहमा भएका जटिलता कसरी समाधान गर्ने, बिरामीको सहजताका लागि सबैले पहल गर्नुपर्ने बताउनु भयो ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले स्वास्थ्य सीमित घेरा, सीमित ठाउँमा रहन नसक्ने बताउँदै अस्पतालमा हुने बिरामीको चाप कम गर्न हरेक पालिकामा अस्पताल बनाउन आवश्यक रहेकाले छिमेकी पालिकामा पनि सहयोग गर्न परियोजनालाई आग्रह गर्नुभयो ।
टीकापुर नगरपालिका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले पहिलो चरणको पहल कार्यक्रमको आफू पनि साक्षी रहेको बताउँदै अस्पतालको स्तरवृद्धिमा परियोजनाले खेलेको भूमिका सहनीय रहेको बताउनु भयो ।
नागरिक समाजका संयोजक भिमराम चपाइले मानिस बिरामी भए पनि अस्पताल बिरामी हुन नहुने बताउँदै पहिलो चरणमा परियोजनाले गरेका काम र उपलब्धी सार्वजनिक गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
रोज क्लवका अध्यक्ष यो इन हिपले परियोजनाले विगत ३ वर्षमा टीकापुर अस्पतालमा ७८० हजार डलर सहयोग गरेको बताउनुभयो । उहाँले परियोजनाले उपचार, एक्सरे मेशिन, एनेस्थेसिया गर्ने सयौँ मेशिन, इन्डोस्कोपी मेशिन, तालिम, प्रसुति र सुरक्षित मातृत्व सेवामा सुधार, स्त्रीरोग विशेषज्ञ चिकित्सक लगायतका क्षेत्रमा सहयोग गरेको बताउनु भयो ।
परियोजनाले दोस्रो चरणमा ५ सय हजार डलर बराबरको सहयोग गर्ने र आवश्यकता अनुसार थप सहयोग समेत गर्न सक्ने बताइए को छ । अस्पतालका अध्यक्ष झपटबहादुर सोडारीले अस्पताल व्यवस्थापन थप सुधार गर्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । सोडारीले पहल परियोजना मार्पmत सघाउने संस्था, कोरिया सरकारलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा सेवक नेपालका चेयर पर्सन पवनकुमारी भण्डारी, रोज क्लव इन्टरनेशलका फाक क्वाङ हो, फाक छल सङ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत अस्पताल का मेसु डाक्टर रेमकुमार राइले गर्नुभएको थियो । भने कार्यक्रम अस्पतालका सूचना अधिकारी शान्तप्रसाद जोशीले सञ्चालन गर्नुभएको थियो ।