पार्टी होस् या सामाजिक संघ संस्थामा भ्रष्टहरुलाई बहिस्कार गरौं

सम्पादकीय
नेपालको राजनीतिमा समाजसेवा भन्ने कुरा दिनप्रतिदिन बद्नाम हुन थालेको छ । समाजसेवा भनेको सेवा होइन कमाउन हो भन्ने भाष्य बनेको छ । अवसर पाएका अधिकांस बद्नाम छन् । संघ संस्थामा नेतृत्व गर्ने हुन् या जनप्रतिनीधि हुन् हरेक व्यक्ति यतिखेर बद्नाम छ । केही निश्चित व्यक्तिलाई अपवाद मान्नु पर्छ । निर्बाचनमा पैसा खर्च गर्नुपर्ने अवस्था छ । नागरिकको सेवा गर्न जान्छु भन्नेहरुले लाखौं खर्च के का लागि गर्छन् ? निर्बाचनमा मासु दारु खाने नागरिकको पनि गल्ती छ । नागरिकले स्वच्छ व्यक्तिलाई छान्ने हो भने मासु भातको आडमा जनप्रतिनीधि हुने सपना देख्न छाड्ने थिए । टीकापुरमा पनि भ्रष्ट को सज्जन को भनेर छुट्याउन गाहे छ । संघ संस्थामा होस् या जनप्रतिनीधि भएर काम गर्ने अवसर पाएको व्यक्तिले कस्तो ग¥यो भन्ने बारेमा समाजका हरेक व्यक्तिले निस्पक्ष रुपमा मुल्याकंन गर्न जरुरी छ । समाजिक कार्यकर्ताको निस्पक्ष रुपमा मुल्याकन भएन भने राम्रो मान्छेले अवसर पाउँदैन । अवसर पाएर बद्नाम भएको या क्षमता देखाउन नसकेको मान्छेलाई समाजले सम्मान गर्दै जाने हो भने त्यो समाजमा राम्रो काम गर्नेहरु अघि बढ्ने कुरै भएन । गलत मान्छे हाबी हुने समाजमा द्वन्द बढ्नु स्वभाविकै हो भने विकास पनि हुँदैन । गलत गर्नेहरुलाई यो वा त्यो बहानामा पटक पटक अवसर दिनु अपराध हो । भ्रष्टहरु सत्ता र शक्तिको आडमा बाच्ने प्रयास गर्छन् र त्यही अनुसार बिचार राख्छन् । तसर्थ नागरिकले आफ्नो भूमिका निभाउने सवालमा पनि क्षमता देखाउनुपर्छ । नागरिकले भ्रष्टहरुलाई बहिस्कार गर्दै जाने हो भने देश आफै बनछ । देश बनेन् भनेर चिन्ता गर्ने तर भूमिका निभाउने बेला बिर्सने बानीले भ्रष्टहरुको मनोबल बढ्दै गएको छ । भ्रष्टहरुको मनोबल कमजोर बनाउन जरुरी छ ।