पूरै गाउँ तरकारी खेतीमा

टीकापुर, १६ फागुन/कैलालीको टीकापुर ८ बनगाउँको पुरै गाउँ तरकारी खेतीमा लागेको छ । शुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन शुरु गरेको भए पनि पछिल्लो समय उनीहरु व्यवसायिक भएकाछन् । तरकारीले बजार पाउन थालेपछि उनीहरु व्यवसायिक खेतीमा लागेको बताउँछन् । ‘‘हाम्रो पूरै गाउँ तरकारी खेतीमा लागेको छ’’, स्थानीय तिर्थ चौधरीले भन्नुभयो, ‘‘थोरै धेरैको कुरा हो तर सबैजसो तरकारी खेतीमा लागेका छन् ।’’
चौधरीका अनुसार गाउँमा करिब सय घर छन् ती सबैले मौसमी र बेमौसमी खेती गर्न लागेका हुन् । यतिखेर त्यस गाउँमा खुर्सानी, टमाटर र गोभी उत्पादन भएको देख्न पाइन्छ । टमाटर र गोभीले खासै मूल्य नपाएको किसानको गुनासो छ । टमाटर प्रति किलो रु.१०, काउली रु.२० मा प्रतिकिलो र खुर्सानी रु.७० मा थोक मूल्यमा लिने गरेको उनीहरुको भनाइ छ । खुर्सानीले शुरुमा मूल्य नपाए पनि अहिले राम्रो मूल्य पाएको किसान तिर्थ चौधरीले बताउनुभयो । ‘‘तरकारीमा राम्रो आम्दानी लिनका लागि अरुको उत्पादन भन्दा पहिला उत्पादन हुनपर्छ’’, चौधरीले भन्नुभयो, ‘‘काउली र टमाटर सबैसँग भएकाले मूल्य खासै छैन तर शुरुमा उत्पादन गर्नेले धेरै मुल्य पाएका थिए ।’’
 उहाँले टमाटर र काउली ढिला भयो भन्दै खुर्सानीबाट आम्दानी लिने बताउनु भयो । मौसमी तरकारी खेती गर्दै आएका किसानले मौसमी भन्दा बेमौसमी तरकारीले मूल्य पाउने कुरा बुझे पछि बैमौसमी तरकारी उत्पादन गर्न आकर्षित भएका छन् । समयभन्दा छिटो उत्पादन गर्दा राम्रो मूल्य पाइन्छ र सबैको उत्पादन भएपछि बजार मूल्य पाइदैन भन्ने कुरा सबैले बुझ्दै गएको स्थानीय मानबहादुर  चौधरीले बताउनु भयो । किसानले ५ कठ्ठादेखी एक बिघासम्म  तरकारी खेती गर्दै आएका छन् ।
राजापुर र टीकापुर बजारमा तरकारी खपत हुन थालेपछि त्यस गाउँका किसान तरकारी खेतीमा हौसिएको मानबहादुरले बताउनु भयो । ‘‘हाम्रो उत्पादन भएको तरकारी बर्दियाको राजापुर र टीकापुरका थोक व्यापारीले खरिद गर्ने गरेका छन्’’, चौधरीले भन्नुभयो,‘‘गाउँमै आएर तरकारी किन्ने गरेका छन्, कतिपयले आफै हाट बजारमा लगेर बिक्री गर्ने गरेका छन् ।’’
कात्तिकमा लगाएको तरकारी पुस महिनाबाट बिक्री गर्न तयार भएको चौधरीले बताउनुभयो । ‘‘कात्तिकमा लगायौँ, ढिलो भएकाले उत्पादन पनि ढिलो हुँदा खासै मुल्य पाइएन’’, चौधरीले भन्नुभयो, ‘‘गाउँ पूरै तरकारी खेती मा लागेकाले तरकारीका थोक व्यापारीलाई पनि सहज भएको छ ।’’
 तरकारीका थोक व्यापारी बनगाउँमा तरकारी पाइन्छ भनेर ढुक्क भएर आउने गरेको स्थानीयको भनाइ छ । किसानले आफ्नो बिक्री भएपछि अर्को छिमेकीको बिक्रीमा सघाउने गरेका छन् । उत्पादन भएको तरकारी लगभग बिक्री भएको अवस्था छ । यसरी तरकारीको आम्दानीले सामान्य खर्च धान्न सजिलो हुने गरेको भौना चोधरीले बताउनुभयो । चौधरी गाविसका पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ । उसो त उनीहरु धान र गहँु खेती पनि गर्छन् । बाढी ग्रस्त क्षेत्र भए पनि त्यो गाउँ तरकारीमा आत्मनिर्भर भनेर चिनिन थालेको छ । ‘‘गाउँ पूरै तरकारीमा लागेको हुँदा युवा र महिला पनि आफ्नो पकेट खर्च निकाल्न तरकारी खेतीमा लागेको पाइन्छ’’, भौनाले भन्नुभयो, ‘‘आधुनिक बीउ पाइने र टनेल मार्फत खेती गर्दा बेमौसमी खेती गर्न सजिलो भएको छ ।’’