पूर्ब राजाको त्रास देखाएर राजनीति

सम्प्दाकीय
नेपालमा आफ्ना गल्ती सच्याउन भन्दा अरुलाई देखाएर चोखो बन्ने राजनीति फस्टाएको छ । गणतन्त्रमा नेपाली जनताको चाहना अनुसार संस्कार देखाउनुको साटो आफु अनुकुल व्याख्या गरेर रजाई गर्ने प्रचलन बढ्दै गएको छ । नेपाली जनताको जीवन स्तर खस्कदो अवस्थामा छ तर नेताहरु आपसमा भिड्ने बाहेक अरु केही गरिरहेका छैनन् । यतिखेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको महाभियोगको कुरा होस् या राष्टूपति बिद्या भण्डारीले नागरिकता बिधेयक प्रमाणिकरण नगरेको बिषय होस् दुबै बिषयमा राजनीतिक दलका नेताहरुको गम्भिर त्रुटि छ । जसरी पनि आफ्नो हात माथि पारेर अरुलाई थिच्ने सोच पालेकै कारण द्वन्द बढ्दै गएको छ । नेपालका नेताहरुले आफ्नो कमजोर प्रस्तुतिलाई ढाकछोप गर्न प्रतिगमन शव्दलाई प्रयोग गर्ने गरेका छन् । प्रतिगमनका नाममा राजालाई धारे हात लगाउने र आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास भइरहेको छ । नेताहरुकै कारण आज गणतन्त्र असफल हुने अवस्थामा पुगेको छ तर गणतन्त्र असफलको खास कारण भन्नुको साटो प्रतिगमन को खतरा देखाउन थालिएको    छ । सधैै अधिकारका कुरा गरेर नथाक्ने दलका नेताहरु सत्तामा गएपछि लुट्नमा व्यस्त भए । अहिलेको व्यबस्था असफल पारेर राजा ल्याउने षडयन्त्र भइरहेको नेताहरुले भन्न थालेका छन् । यस्ता भनाईको कुनै तुक छैन । लडेर ल्याएको व्यबस्था बचाउन पहल नगर्ने अनी राजालाई देखाएर जनतालाई ठग्ने काम गर्नु गलत हो । अझ त्यति मात्र होइन राजा ल्याउन आफुले कुनै हालतमा नदिने भनेर क्रान्तिकार बन्दै छन् । नेपालले राजनीतिक दलमा देखिएका अराजकता र मनपरीका बारेमा बोल्नुको साटो राजालाई दोष देखाएर क्रान्तिकारी बन्ने प्रयास गरेको देख्दा नेताहरु सुध्रिने अवस्थामा छैनन् भनेर बुझ्न सकिन्छ । केवल आफ्नो सत्ता स्वार्थमा लिप्त नेताहरु जनतालाई त्रास देखाएर आफु बलियो भइरहने वातावरण बनाउनेमा लागेका छन् । पटक पटक अवसर पाएका छन् तर देश र जनताका लागि भन्दा आफ्नालाई पोस्ने काम मात्र गरेका छन् । तसर्थ नागरिक सचेत हुन जरुरी छ । भ्रमको खेलमा जनता पर्नु हुँदैन ।