सम्पादकीय
नेपालका नेताहरुले आफ्नो कमजोर प्रस्तुतिलाई ढाकछोप गर्न प्रतिगमन शव्दलाई प्रयोग गर्ने गरेका छन् । प्रतिगमनका नाममा राजालाई धारे हात लगाउने र आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास भइरहेको छ । नेताहरुकै कारण आज गणतन्त्र असफल हुने अवस्थामा पुगेको छ तर गणतन्त्र असफल को खास कारण भन्नुको साटो प्रतिगमन को खतरा देखाउन थालिएको छ । सधैै अधिकारका कुरा गरेर नथाक्ने दलका नेताहरु सत्तामा गएपछि लुट्नमा व्यस्त भए । आइतवार मात्र पूर्ब प्रधामन्त्री माधव कुमार नेपालले प्रतिगमनको खतरा बढेको बताउनुभयो । अहिलेको व्यबस्था असफल पारेर राजा ल्याउने षडयन्त्र भइरहेको नेपालको भनाई थियो । अझ त्यति मात्र होइन राजा ल्याउन आफुले कुनै हालतमा नदिने पनि भन्न भ्याउनु भयो । नेपालले राजनीतिक दलमा देखिएका अराजकता र मनपरीका बारेमा बोल्नुको साटो राजालाई दोष देखाएर क्रान्तिकारी बन्ने प्रयास गरेको देख्दा नेताहरु सुध्रिने अवस्थामा छैनन् भनेर बुझ्न सकिन्छ । केवल आफ्नो सत्ता स्वार्थमा लिप्त नेताहरु जनतालाई त्रास देखाएर आफु बलियो भइरहने वातावरण बनाउनेमा लागेका छन् । पटक पटक अवसर पाएका छन् तर देश र जनताका लागि भन्दा आफ्नालाई पोस्ने काम मात्र गरेका छन् । हरेक राजनीतिक दलमा भ्रष्टहरु हाबी भएका छन् । भ्रष्ट र माफियाको चंगुलमा पार्टीका शिर्ष नेताहरु फसेका छन् । नेताहरु सुबिधा भोगी भएका छन् । जनताको पक्षमा कसरी राम्रो काम गर्न सकिन्छ भन्ने बारेमा ध्यान दिएको पाइदैन। आफ्नो काम गर्ने शैली नहुने अनी पूर्ब राजालाई दोष लगाएर उम्कने राजनीति जनताले बुझेका छन् । जनतालाई ठग्ने राजनीतिबाट आम नागरिक सचेत हुन जरुरी छ । सत्ताका लोभीहरुलाई जनताले तह लगाउनै पर्छ । आम जनताले आउँदो निर्बाचनमा सत्तामा लिप्त नेताहरुलाई तह लगाउन जरुरी छ ।