सम्पादकीय
नेपालमा सत्ता मोह बढ्दै जाँदा नागरिकका सवालमा सत्तापक्ष र प्रतिपक्ष बेखबर हुन थालेका छन् । नागरिकको जीवन कठिन अवस्थामा पुगेको कुरा राजनीतिक दलका नेताहरुले बुझेको पाइदैन । नागरिकको दैनिकी कठिन भएको बिषयमा सत्तापक्ष र प्रतिपक्ष बहस गर्दैनन् । नागरिकका सवालमा बहस र छलफल भएको पाइदैन । सदनमा सत्तामोहको रोदन मात्र सुन्न पाइन्छ । नागरिकले गास काटेर तिरेको रकमबाट भत्ता खान्छन् तर नागरिकका समस्याका बारेमा गम्भिर छैनन् । प्रजातन्त्रमा प्रतिपक्षको भूमिका अहम हुन्छ । सत्तामा बस्नेहरुले मनपरी गर्छन् त्यसलाई रोक्ने काम प्रतिपक्षको हो । सत्तामा बसेर सेवा दिन सकिन्छ भने प्रतिपक्षमा बसेर सरकारलाई सचेत गराउँदै सेवा थप प्रभावकारी बनाउन मदत पुग्छ । नेपालको अवस्था हेर्ने हो भने गणतन्त्र आएपछि कसैले पनि प्रतिपक्षको भूमिका निभाएको देखिदैन । जनजीविकाको सवालमा प्रतिपक्षले दबाब सृजना गर्नुपर्छ । नेपालमा हरेक दल सत्तामा मात्र बस्न खोज्छन् । सत्ता भन्दा बाहिर आएपछि नून खाएको कुखुरा झै हुने गरेकाछन् । तीनै तहका सरकारमा प्रतिपक्षको भूमिका निभाएको भए आज गणतन्त्रप्रति जनताको आक्रोस बढ्ने थिएन । जनजीविकाको सवालमा चुइक्क नबोल्ने अनी ५ बर्षमा भोट मात्र माग्न जाने प्रबृत्तिले राजनीतिक दलका नेताहरुमा सुबिधाभोगी सोच पलाउदै गएको छ । सुबिधाभोगी सोच पलाउदै गएपछि राजनीतिक दलका नेताहरु र जनता टाढा हुन थालेको अवस्था छ । ५ बर्षमा एकपपटक जनतामाझ जाने अनी भएभरका आश्वासन बाड्ने राजनीतिले अविश्वास बढाउदै गएको छ । यतिखेर नेकपा माओवादी सत्ता भन्दा बाहिर बस्नु परेको पीडा सुनाउँदै छ तर प्रतिपक्षको भूमिका निभाउने सवालमा गम्भिर छैन । जनताका बिषयमा गम्भिर भएर निगरानी गर्छाै भन्नुको साटो धोका भयो भन्दै दुखेसो गर्ने काम भइरहेको छ । सत्ता भन्दा बाहिर बसेका नेताहरुले सशक्त प्रतिपक्षको भूमिका निभाएर जनताको भावना अनुसार हिड्न जरुरी छ । माओवादी लगायतका दलले साच्चिकै प्रतिपक्षको भूमिका निभाउन जरुरी छ ।