प्रदेश सरकार योजना छनौटका लागि स्थानीय तहमा

टीकापुर,२० बैशाख/सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षका योजना छनौटका लागि स्थानीय तहमा आइपुगेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आज टीकापुरमा प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठी गरेको छ ।
गोष्ठीमा कैलाली क्षेत्र नं। १ का प्रदेश सांसद, टीकापुर, जानकी र जोशीपुरका पालिका प्रमुख, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगतका सबै कार्यालयका प्रमुख, अन्य विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
टीकापुरबाट शुरु भएको योजना छनौट गोष्ठी २३ गतेसम्म सबै निर्वाचन क्षेत्रमा सक्ने तयारी प्रदेश सरकारको छ । गोष्ठीमा प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले प्रदेश सरकारले नयाँ अभ्यास गरिरहेकाले बर्गिकरण गरेर योजना छनौट हुने र सामाजिक, सार्वजनिक सरोकारका योजना प्राथमिकतामा रहने बताउनुहुन्छ । ‘सबै क्षेत्रलाई समेट्ने गरी योजना छनौट गर्नका लागि स्थानीय तहमा आएका हौँ’, चौधरीले भन्नुभयो, ‘हामीले ब्यक्तिगत हीत होइन सामाजिक विकासमा सहयोग हुने खालका योजना ल्याउने गरी छलफल थालेका हौँ ।’
प्रदेश सभा सदस्य ललिता सुनारले पालिकामार्फत योजना छनोटका लागि छलफल भएको र पालिकाबाट सूचिकृत भएका योजना मात्रै समावेश हुने बताउनुहुन्छ । ‘सरकारले पहिलो पटक स्थानीय पालिकाबाट सिफारिस भएका योजना छनौट गर्छ’, उहाँले भन्नुभयो, ‘अब प्रदेश सांसदले मनपरी योजना हाल्न पाउँदैनन् । ’
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी यसअघिका कार्यकालमा प्रदेशका योजनाको जानकारी स्थानीय सरकारलाई जानकारी नहुने भएकाले अबको यो अभ्यासले एकखालको सिस्टम बस्ने बताउनुहुन्छ । ‘खबर ढिला भयो, तयारी पनि गर्न पाइएन’, उहाँले भन्नुभयो, ‘पूर्व जानकारी भएको भए अझ छलफल प्रभावकारी हुन्थ्यो, तर ढिलो भएपनि अब स्थानीय सरकारसँगको छलफलपछि योजना आउँछन् ।’
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी प्रदेश सरकारले योजना छनौट गोष्ठी हतारमा गरेकाले सबै योजना समेट्न गाहे हुने बताउनु हुन्छ । ‘यस्तो हतारमा कसरी योजना छान्नु, समय कम भयो, एकदिनमा कहाँ हुन्छ रु’, उहाँले भन्नुभयो, ‘कम्तीमा ४ दिन छलफल हुनु पर्छ ।’
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीका डिभिजन प्रमुख डम्बर प्रसाद धिताल यस वर्ष स्थानीय तह, प्रदेश सभा सदस्यको प्रत्यक्ष सहभागितामा योजना छनौट हुँदा स्थानीय प्राथमिकताका योजना समाबेश हुने बताउनुहुन्छ । उहाँ विगतमा आफ्नै तरिकाले छनौट हुने योजना अब विधिवत रुपमा आउने, यस वर्ष समय अभाव भएकाले सूचना आदानप्रदान तथा जानकारी मूलक हुने बताउनुहुन्छ ।
प्रदेश सरकारले पालिकाको योजनामा भएका योजना छनौटका लागि थालेको यो अभियान सार्थक होस् । साच्चिकै पालिकास्तरबाट छनौट भएका योजनालाई प्रदेश सरकारले पारित गरोस् ।