दुर्गा देवकोटा
टीकापुर, १२ असोज/कैलालीको टीकापुरमा आयोजना गरिएको प्लाष्टिक सर्जरी शिविरमा ९९६ जनाले उपचार सेवा लिएका छन् । शिविरमा ४४७ पुरुष र ५४९ महिलाले उपचार सेवा लिएका हुन् । शिविरमा उपचार सेवा लिनेमा २४० जनाको शल्यक्रिया गरिएको छ ।
शल्यक्रिया सेवा लिनेमा ९१ पुरुष र १४९ महिलाछन् । उपचार सेवा लिन आएकामध्ये १७६ जनालाई थप उपचारका लागि सुष्मा कोइराला अस्पताल काठमाण्डौ रेफर गरिएको छ । कतिपय काठमाण्डौमै गएर उपचार गर्नुपर्ने भएकाले प्रेषण गरिएको अस्पतालका प्रमुख प्रशासक प्रफुल्ल शर्माले बताउनु भयो । ‘‘यहाँ उपचार सम्भव नभएकाहरुको काठमाण्डौ प्रेषण गरेका छौँ, त्यहाँ पनि निशुल्क उपचार सेवा पाउनेछन्’’, उहाँले भन्नुभयो, ‘‘यहाँबाट काठमाण्डौँ सम्म पुगाउने व्यवस्था यहाँहरु गर्नुहोला । उपचार सेवा सबै निशुल्क हुनेछ ।’’
शर्माका अनुसार उपचार सेवा लिनेमा बच्चादेखि बृद्धसम्म रहेका छन् । शिविरमा ५ वर्ष मुनिका ६७ जनाले उपचार सेवा लिएकोमा ५ जनाको शल्यक्रिया गरिएको छ ।
५ देखि १५ वर्ष उमेर भित्रका १२९ जना परीक्षणमा आएकामा ४३ जनाको उपचार गरिएको जनाइएको छ । १५ देखि ४० वर्ष उमेरका २ सय ८९ जना बिरामी उपचारमा आउँदा १०६ जानको शल्यक्रिया गरिएको, ४० देखि ६० वर्ष माथिका २८४ जनाको स्वास्थ्य परीक्षण गर्दा ७७ जनाको शल्यक्रिया र ६० वर्ष माथिका २१ जनाको शल्यक्रिया गरिएको शर्माले जानकारी दिनुभयो ।
४ दिनसम्म टीकापुर अस्पताल मा सञ्चालित शिविर समापन कार्यक्रममा बोलदै नगर प्रमुख रामलाल डगौरा थारुले विपन्न समुदाय यो शिविरबाट लाभान्वित भएको र यस्ता शिविर थप गर्न माग आइरहेको बताउनुभयो । नगर प्रमुख थारुले निशुल्क सेवा दिन टीकापुर पुगेको अस्पतालको टिमलाई धन्यवाद दिदै मानवीय भावना र दायित्व पूरा गर्न सहयोग मिलेको बताउनु भयो । ‘‘विपन्न सयौँ नागरिक ले सेवा पाए’’, उहाँ भन्नुहुन्छ, ‘‘अझैँ सेवा लिनुपर्ने धेरै रहेछन् । हाम्रो सहकार्य आउँदा दिनमा पनि हुनेछ ।’’
टीकापुर नगरपालिका जन स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले सामाजिक भावनाका साथ सञ्चालन भएको शिविरमा थप उपचारका लागि काठमाण्डौ रेफर भएका विपन्न नागरिकलाई यातायात खर्च नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।
‘‘काठमाण्डौमा उपचारमा जाने विपन्न बिरामीलाई यातायात खर्च पालिकाले बेहोर्नेछ’’, उहाँ भन्नुहुन्छ, ‘‘जलन तथा आगोले पोलेका नागरिकले सेवा पाउन भन्ने उद्देश्यले शिविर सञ्चालन भएको हो ।’’
टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले जलनको सेवा नेपालका २ ठाउँमा मात्रै हुँदा नागरिकलाई समस्या भइरहेको अवस्थामा टीकापुरमै आएर सेवा दिएकोमा धन्यवाद दिनुभयो । ‘‘हरेक अस्पतालमा जलनको उपचारका लागि छुट्टै कक्ष र चिकित्सक को टिम हुनु पर्ने हो तर छैन’’,उहाँ भन्नु हुन्छ, ‘‘यस्ता गम्भिर समस्याम सरकारको ध्यान जानुपर्छ ।’’
असोज ७ गतेबाट १० गते सम्म सञ्चालन भएको शिविर सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाण्डौको प्राविधिक सहयोग तथा टीकापुर नगरपालिका र टीकापुर अस्पतालको संयुक्त आयोजनामा शिविर शुरु भएको हो ।
शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका जनरल सर्जन डाक्टर रोजिना शिल्पकार स्वाँरको नेतृत्वमा सिनियर कन्सल्टयान्ट डाक्टर श्यामेन्द्र बहादुर सिंह, कन्सल्टयान्ट सर्जन डाक्टर मनोहर यादव, मेडिकल अधिकृत डाक्टर सुमित्रा तामाङ सहित १४ जनाको टोलीले सेवा दिएको हो ।