बद्नाम भए दलका नेताहरु

सम्पादकीय
नेपालका राजनीतिक दलका नेताहरु दिन प्रतिदिन बद्नाम हुन थालेका छन् । श्रीलंकाको अवस्था छताछुल्ल भएपछि केही दिन यता आम नागरिकमा नेताहरु प्रति तिब्र आक्रोश बढ्न थालेको छ । नेताहरु पुरै कमाउ धन्दामा लागेको प्रष्ट छ । सत्ता स्वार्थका लागि मरिहत्ते गर्नाको कारण अहिले जनताले बुझे । अधिकारका कुरा धेरै गरे तर नेताहरुको भित्रि स्वार्थ अर्कै रहेछ भनेर जनताले बुझ्न थालेका छन् । नेपालको राजनीति सत्ता र शक्तिको स्वार्थमा लिप्त भएको पाइन्छ । २०४६ को परिवर्तन पछि राजनीतिक दलका नेताहरु सत्ता केन्द्रित मात्र भए । गणतन्त्र आएपछि चरम व्यक्तिवादी सोच हाबी भयो । व्यक्तिवादी सोचले निम्ताएको राजनीति तिक्तताले विकास भन्दा पनि द्वन्द बढ्न थालेको छ । वर्तमान गठबन्धनको सरकारले पनि खासै जनताको भावना बुझ्न सकेको छैन । पछिल्लो समय अर्थमन्त्री का कारण भएको घटनाले गठबन्धन प्रति तिब्र रोष छ । अर्थमन्त्रीको हर्कतले आम नागरिक दिक्क मात्र होइन के गर्ने भनेर सोच्न थालेका छन् । कांगे्रसलाई हामीले साथ दिएका कारण सत्ताको नेतृत्व पाएको छ भन्ने बुझाउने प्रयास माओवादी र एकीकृत समाजवादीले गरिरहेका छन् । तर लुटतन्त्रमा लागेको कुरा जनतालाई भन्दैनन् । नागरिक सचेत हुन जरुरी छ । हामीहरुले जे गरेपनि जनताले पचाउछन् भन्ने सोच नेताहरुले पालेका छन् । जनताले यस्ता नेताहरुलाई समयमै तह लगाउन जरुरी छ । श्रीलकांको जस्तो अराजकता देखाउनु नपरोस् । नेताहरु समयमै सचेत हुन जरुरी छ । देशको आर्थिक अवस्था कमजोर भएको सबैले महशसु गरेका छन् तर सत्तामा बसेकाहरु ढाट छलमै व्यस्त छन् । समयमै निकास निकाल्न जरुरी छ ।